पाल्पाको डुम्रे नजिकै पहिरोले एस्काभेटर पुरिँदा एकको मृत्यु, एक घाइते


असिम कामु मगर
पाल्पा । तिनाउ गाउँपालिकाको डुम्रे नजिकै गए राति पहिरोले एस्काभेटर पुरिँदा एक व्यक्तिको मृत्यु भएको छ । पहिरोले पुरिएर मृत्यु हुनेमा बर्दियाको बाँसगढी नगरपालिका–३ घर भई हाल डुम्रेमा बसोबास गर्ने २७ वर्षीय महेन्द्र पुन रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीका अनुसार पुनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा गए राति नै मृत्यु भएको हो ।
तिनाउँ गाउँपालिका–६, डुम्रेस्थित भित्र कच्ची सडकखण्डमा डुम्रेबाट होलीघाटतर्फ ढुंगा लोड गरी जाँदै गरेको लु४त ६६२९ नम्बरको ट्याक्टर हिलोमा फसेपछी निकाल्ने क्रममा माथिबाट पहिरो आएर ट्याक्टर र दुई एस्काभेटर पुरिएका थिए ।
पहिरोले पुरिएर लु१क २४९६ नम्बरका एस्काभेटर चालक पाल्पा, रैनादेवी छहरा गाउँपालिका–१ बस्ने २० वर्षीय सरोज बुढा घाइते भएको सूचना अधिकारी त्वातीले बताए ।
बुढाको अहिले लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । यस्तै, अर्को लु१क २४९७ नम्बरको एस्काभेटर चालक र सहचालक पहिरोबाट जोगिन सफल भएका थिए ।






















