महोत्तरीमा नगर प्रमुखकै घरमा नगर कार्यपालिकाको कार्यालय सञ्चालन


महोत्तरी । महोत्तरीको भङ्गाहा नगरपालिकामा नगर प्रमुखकै घरमा नगर कार्यपालिकाको कार्यालय सञ्चालन भएको छ ।
भङ्गाहा–५ सीतापुरमा नवनिर्मित आफ्नो निजी पक्की घर नगर प्रमुख सञ्जिवकुमार साहले कार्यालय सञ्चालनका लागि निःशुल्क उपलब्ध गराएका हुन् ।
नगरप्रमुख साहले नगरपालिकाको कार्यालय भवन निर्माण नहुदासम्म घरभाडा नलिने गरी कार्यालय सञ्चालन गर्न नयाँ भवन उपलब्ध गराएको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले जानकारी दिए ।
नगरपालिकाको आफ्नै भवन नहुँदा यसअघि सीतापुरमै मासिक रु ६० हजार लाग्ने भाडाको घरमा कार्यालय सञ्चालन हुँदै आएको थियो । नगरप्रमुख साहले आफू बसोबासका लागि अर्को घर रहेको हुँदा नवनिर्मित भवन कार्यालय सञ्चालनका लागि निःशुल्क उपलब्ध गराएको बताए ।
नगरप्रमुख साहले लिखित सम्झौता गरेरै भवन उपलब्ध गराएपछि नयाँ आर्थिक वर्ष प्रारम्भसँगै कार्यालय सारिएको छ । जोशीले भने, “ अब मासिक रु ६० हजार बचत हुने भयो ।”
नयाँ आव २०७८/०७९ भित्र भवन निर्माण भइसक्ने साहको भनाइ छ । पक्की घरमा २० भन्दा बढी कोठा छन् ।























