देश

१८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्ध खोप दिने तयारी , १६ गतेभित्र थप ३२ लाख खोप भित्रिने

जगत ठाडा मगर
२०७८ साउन २ | बिहान १०:०४ बजे

काठमाडौं । सरकारले कोभिड-१९ विरुद्धको खोप अभियानलाई तीव्रता दिने भएको छ । नविनयुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो मन्त्रिपरिषद् बैठकले यसै वर्ष सबै नागरिकलाई नि:शुल्क खोप उपलब्ध गराउने प्रतिबद्धता जनाए सँगै मातहतका निकायले कामलाई तीव्रता दिएका हुन् ।

photo 2021 07 17 10 09 50

स्वास्थ्य तथा जनसंख्या मनत्रलायले सरकारले तत्कालै १८ वर्षमाथिका सबै नागरिकलाई खोप दिने गरी तयारी थालेको छ । १८ वर्षमाथिका नागरिकलाई खोप लगाउने योजना तयार भैसकेको जनाएको छ ।

आवश्यक खोपको समेत व्यवस्थापन भैसकेको र केही जिल्लामा खोप उपलब्ध गराइसकेको मन्त्रालयका सह-प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिए ।

खोप आपूर्ति समस्याको समाधान भैसकेको मन्त्रालयको दाबी छ । सहप्रवक्ता अधिकारीका अनुसार यही साउन ६ गतेसम्म चीनबाट खरिद गरिएको थप खोप नेपाल आइपुग्ने छ र १६ गतेसम्म ३२ लाख खोप भित्रि सक्ने छ । त्यसपछि निरन्तर आवश्यक खोप आउनेछ ।

हाललाई भने ५५ वर्षमाथिका नागरिकहरुलाई खोप लगाउने कार्य जारी रहेको छ । चरणचद्ध रुपमा सबै नागरिकलाई छिट्टै नि:शुल्क खोप उपलब्ध गराइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै यसअघि दोस्रो डोज खोप लगाउन छुटेका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुका लागि पनि खोपको व्यवस्थापन गरिसकेको मन्त्रालयले जानकारी गराएको छ ।

खोपको आपूर्ति मजबुत हुँदै गएकोले छिट्टै नै सबै नागरिकलाई खोप उपलब्ध हुने भन्दै मन्त्रालयले खोप अभियान सफल बनाउन आग्रह गरेको छ ।

कमेन्टहरु