गण्डकी प्रदेश

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु

नवलपुर टुडे
२०८१ माघ २१ | बिहान ०६:१० बजे

पोखरा।  गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । आज दिउँसो २ बजे प्रदेश सभा भवन नदीपुरमा हिउँदे अधिवेशन डाकिएको हो ।

हिउँदे अधिवेशनको पहिलो दिन प्रदेश निजामती सेवा ऐन संशोधनसम्बन्धी अध्यादेश प्रदेश सभामा पेश हुनेछ ।

अध्यादेश बाध्यकारी भएकाले पेश हुने प्रदेश सभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए । गण्डकी प्रदेश सरकारले करार, ज्यालादारीमा कर्मचारी राख्ने गरेर ल्याएको अध्यादेश गत पुस १२ गते प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रमाणीकरण गरेका थिए ।

प्रदेश निजामती सेवा ऐन २०७९ करारमा कर्मचारी राख्न रोक लगाएको थियो । त्यसैलाई शंशोधन गर्न प्रदेश सरकारले अध्यादेशको सहारा लिएको हो ।

यस्तै प्रदेश सभामा आज शोक प्रस्ताव पेश हुनेछ । गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको कात्तिक २८ गते निधनको भएको थियो ।

नेपाली कांग्रेसको समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सभामा चुनिएकी गौचनको ६३ वर्षको उमेरमा निधन भएको थियो ।

शोक प्रस्ताव पारित गरेर बैठक सकिनेछ । गत असोज १० गते गण्डकीको बर्खे अधिवेशन सकिएको थियो ।

हिउँदे अधिवेशनमा १० वटाका हाराहारीमा विधयेक प्रस्तुत गर्ने तयारी छ । संसदमा दलित विधेयक, अपाङ्तासम्बन्धी र युवा परिषद् गठन, गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषामा मान्यता दिने विधेयक लगायतका विधेयक प्रस्तुत गर्ने तयारी छ ।

यस अघि नै दुई वटा विधेयक संसदीय समितिमा विचाराधीन रहेका छन् ।

कमेन्टहरु