देश

नेपाली सेनाको सांगठनिक पुनःसंरचना तीन जोड एक कमान्ड संरचनामा प्रवेश

जगत ठाडा मगर
२०७८ साउन २ | बिहान ०८:०४ बजे

काठमाडौँ । नेपाली सेनाले सांगठनिक पुनःसंरचना गर्दै ३ जोड १ कमान्ड संरचनामा प्रवेश गरेको छ। नेपाली सेनाको सांगठनिक पुनःसंरचना २०७७/७८ लाई असार २४ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत दिएपछि शुक्रबारदेखि यो कार्यान्वयनमा आएको हो।

यसअघि गत फागुन २० गते बसेको मन्त्रिपरिषद्को बैठकले ३ जोड १ संरचनालाई स्वीकृत दिएको थियो।
प्रधानसेनापति पूर्णचन्द्र थापाले एक कार्यक्रमबीच शुक्रबार सैनिक मुख्यालयमा नयाँ संरचनाअन्तर्गत बनेका कमान्ड सेनापतिहरूलाई कमान्ड झन्डा हस्तान्तरण गरेका छन्। सेनाले यसअघिका आठ पृतना हेडक्वार्टरलाई चारवटा कमान्डमा स्तरोन्नति गरेको हो।

नयाँ कमान्ड संरचनालाई पूर्वी कमान्ड, पश्चिम कमाण्ड, मध्य कमान्ड र उपत्यका कमान्ड नामाकरण गरिएको छ। सेनाले सांगठनिक पुनःसंरचनाले हाल रहेको सेनाको संख्या र विशिष्ट श्रेणीको दरबन्दी संख्यामा कुनै हेरफेर नहुने जनाएको छ। साथै यसले गर्दा मध्यक्रमका अधिकृत, पदिकर बिल्लादारहरूको वृत्ति विकासमा परेको समस्यालाई सम्बोधन गर्ने सेनाको दाबी छ।

सेनाले मुख्य रूपमा अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा परिशर अन्तर्राष्ट्रिय अभ्यास समेतलाई दृष्टिगत गरी नेपाली सेनालाई समयानुकूल थप व्यावसायिक, अनुकूल, चलायमान र गतिशील बनाउन संरचनामा परिवर्तनको आवश्यकता रहेको जनाएको छ।

नयाँ संरचनाले सबै प्रकारका वर्तमान र भावी चुनौती सामना गर्न सक्ने आधुनिक सेनाको परिकल्पना अनुसारका क्षमताहरू हासिल गर्ने आधार तयार हुने सेनाको दाबी छ।

कमेन्टहरु