देश

प्रदेश नं २ को मन्त्रिपरिषद् आज शनिबार विस्तार हुँदै, सरकारमा माओवादी केन्द्र पनि सहभागी हुने

जगत ठाडा मगर
२०७८ साउन २ | बिहान ०८:०४ बजे

जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज शनिबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् । नेकपा माओवादी केन्द्र पनि सरकारमा सहभागी हुने भएपछि मुख्यमन्त्री राउतले मन्त्रि परिषद् विस्तार गर्न लागेका हुन् ।

माओवादीले सरकारमा सहभागी हुने मन्त्रीको चयन गरिसकेको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले संसदीय दलका नेता भरत साहलाई मन्त्रीमा र रुबी कर्णलाई राज्यमन्त्रीमा पठाउने निर्णय गरिसकेको छ ।

माओवादी केन्द्र संसदीय दलका सचेतक दिलीपकुमार साहका अनुसार महोत्तरी क्षेत्र नम्बर १ को ‘ख’ बाट निर्वाचित साह र सप्तरीकी समानुपातिक सांसद कर्णले आज शनिबार शपथ लिने भएको छ ।

स्रोतका अनुसार माओवादीबाट मन्त्री पदमा नियुक्त हुन लागेका साहले अर्थ वा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउनेछन् । अहिले यी दुवै मन्त्रालयमा जनता समाजवादी पार्टी (उपेन्द्र यादव समूह)का मन्त्री छन् ।

प्रदेश २ सरकारमा नेपाली कांग्रेस यसअघि नै सहभागी भैसकेको छ । उपेन्द्र यादव समूहले महन्थ ठाकुर समूहका मन्त्रीलाई हटाएर कांग्रेसलाई तीन मन्त्रालय दिएर जेठ २६ गते सरकारमा ल्याएको हो ।

कमेन्टहरु