नवलपरासीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, चालक घाइते


नवलपरासी, माघ १८ । पश्चिम नवलपरासीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने मोटरसाइकल चालक गम्भीर घाईते भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार शुक्रवार साझ करिब ६:४० बजे सरावल गाउँपालिका- १ सालबासस्थित पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ आउदै गरेको प्रदेश नं. ३-०२-००६ प ९८३६ को मोटरसाइकल आफै अनियन्त्रित भइ सडक बिचको पेटीमा ठोक्किन जादा दुर्घटना भएको जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलको पछाडी सवार रुपन्देही शुद्धोधन गाउँपालिका अमहवा बस्ने बर्ष २८ को कमल परियारको लुम्बिनी सिटि अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । सोही मोटरसाइकल चालक नुवाकोट जिल्ला लिखु- ३ बस्ने बर्ष २९ को गोपाल लोहनी गम्भीर घाईते रहेको छ । उनको सोही अस्पतालमा उपचार भैइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी एवम डीएसपी रेशम बोहराले जानकारी दिएको छ ।
मृतक परियारको शव सोही अस्पतालमा रहेको बोहराले बताए ।























