पर्साबाट फरार प्रतिवादी २० वर्षपछि पक्राउ


वीरगञ्ज । पर्सा प्रहरीले लागुऔषध मुद्दामा अदालतबाट सजाय पाएर फरार रहँदै आएका प्रतिवादीलाई २० वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महागरपालिका– १६ का ४१ वर्षका चन्दन कुमार रौनियार रहेका छन्। उनलाई जिल्ला अदालतले २०६१ असार १३ गते लागुऔषध चरेस मुद्दामा दोषी ठहर गर्दै दुई वर्ष ७ महिना कैद र १० हजार जरीवाना तोकेको थियो।
फरार रहँदै आएका उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको कैद असुल तथा फैसला कार्यान्वयन विशेष टोलीले नगवाबाट बिहीबार पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता डिएसपी सुवास भट्टले जानकारी दिए।
यस्तै, बिहीबार नै उक्त टोलीले विभिन्न मुद्दामा २४ हजार ३४७ जरिवाना तोकिएका १२ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको उनले बताए। पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि अदालतमा बुझाइएको भट्टले बताए।
यस्तै, रौतहट प्रहरीले एकैदिन १० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीले जिल्लाको विभिन्न स्थानबाट गत मंगलबार एकैदिन अठार जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो।























