खेलकुद

गैंडाकोटलाई हराउँदै प्याराडाईज राईजिङ भरतपुर गोल्डकपको सेमिफाइनलमा

नवलपुर टुडे
२०८१ माघ १५ | मध्यान्ह ०३:१० बजे

चितवन । पुनरागमन जित निकाल्दै प्याराडाईज युथ क्लब मिन्नानो राईजिङ भरतपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा भएको खेलमा प्याराडाईजले गैंडाकोट फुटबल क्लबलाई टाईब्रेकरमा ४-३ ले हरायो । त्यस अघि निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।

खेलमा अग्रता भने गैंडाकोटले लिएको थियो । ४८ औं मिनेटमा समिर तामाङले गोल गर्दै गैंडाकोटलाई अग्रता दिलाएका थिए । प्याराडाईजलाई बराबरी गोल फर्काउन अतिरिक्त समयसम्मै कुर्न पर्‍यो । अतिरिक्त समयको पहिलो मिनेटमा राकेश चौधरीले बराबरी गोल फर्काए ।

निर्धारित समयसम्म अग्रता बनाएको गैंडाकोट अतिरिक्त समयमा सम्हालिन नसक्दा निराश भयो । प्याराडाईजका कप्तान विवेक पौडेल प्लेयर अफ दि म्याच भए । प्याराडाईजले पनि सेमिफाइनलमा आबुँखैरेनीको सामना गर्नेछ । आबुँखैरेनी भरतपुर २४ लाई हराउँदै सेमिफाइनल प्रवेश गरिसकेको छ ।

प्रतियोगितामा मंगलबार अन्तिम क्वाटरफाइनल खेल हुनेछ । जसमा सरस्वति युथ क्लब काठमाडौं र नेपाल पुलिस क्लब काठमाडौं भिड्नेछन् । खेल दिउँसो ३ बजे हुनेछ । चितवन ११ फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले ट्रफीसहित सात लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख प्राप्त गर्नेछ ।

कमेन्टहरु