पर्यटन, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

खप्तड-बडिमालिका हेलिटुर: पर्यटन मन्त्री पाण्डेद्वारा उद्घाटन

उमेश रोकाया
२०८१ माघ १३ | बिहान ०५:१० बजे

बाजुरा, माघ १३ । सुदूरपश्चिम प्रदेशका बाजुरा जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तड र बडीमालिकामा हेलिटुर सुरु भएको छ। भू-स्वर्गका रुपमा परिचित ऐतिहासिक महत्त्व बोकेका खप्तड राष्ट्रिय निकुञ्ज र बडिमालिकाको पर्यटन प्रवर्द्धन गर्न हेलिटुर सञ्चालनमा आएको पर्यटन व्यवसायी दीपकबहादुर खड्काले बताउनुभयो

शुक्रवारदेखि सुरु भएको हेलीटुरमा दुई सय भन्दा बढी पर्यटकले भ्रमण गर्ने लक्ष्य राखिएको खड्काको भनाइ छ। सुदूरपश्चिम प्रदेशमा हेली टुरमार्फत खप्तड र बडीमालिकाको अवलोकन गराउन थालेको यो चौथो पटक हो। हेलिटुर महोत्सवको एक औपचारिक कार्यक्रमका बिच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेयले उद्घाटन गर्नुहुँदै  सुदूरपश्चिम प्रदेशका मुख्य धार्मिक,पवित्र तथा पर्यटकीय स्थल बडिमालिका र खप्तडको पर्यटन प्रवर्द्धनमा हेलिटुर सञ्चालनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । 

खप्तड होमस्टे झिग्राना र खप्तड एड्भन्चर टुर्सको व्यवस्थापन र सातौं साँफेबगर महोत्सव २०८१ को अवसरमा लायन्स क्लब अफ साँफेबगरको आयोजनामा  पर्यटकहरूको माग अनुसार हेलिटुर नियमित रुपमा सञ्चालनमा आउने आयोजकले जनाएको छ। हिमपात भएको समयमा पर्यटकको आवागमन शून्य जस्तै हुने भएकाले खप्तड बडीमालिका क्षेत्रमा पर्यटकको चहलपहल बढाउन हेलिटुर सुरु गरिएको साँफेबगर महोत्सव आयोजक समितिका संयोजक कृष्ण कुँवरले बताउनुभयो।

अछाम र बाजुरा जिल्लामा अवस्थित धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरू बडीमालिका, खप्तड, रामारोशन र वैद्यनाथ क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गरी पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न हेली टुर सञ्चालन गर्ने निर्णय भएको कुँवरको भनाइ छ। साँफेबगरदेखि खप्तड, बडीमालिका र रामारोशन क्षेत्रमा हेलिकोप्टरबाट दर्शन तथा अवलोकन गर्न सकिने व्यवस्था गरिएको छ। 

कमेन्टहरु