पर्साको छिपहरमाई गाउँपालिकाले कक्षा ११ र १२ का छात्र-छात्राहरुलाई पोशाक वितरण


दिपेन्द्र चौधरी सहनी
पर्सा । पर्सा जिल्लाको छिपहरमाई गाउँपालिकाले आज विशेष कार्यक्रम आयोजना गरी कक्षा ११ र १२ का छात्र-छात्राहरुलाई विद्यालय पोशाक वितरण गरेको छ। श्री मंगल माध्यमिक विद्यालय भिस्वा र श्री नवगावा माध्यमिक विद्यालय चारगाहामा अध्ययनरत २ सयभन्दा बढी छात्र-छात्रालाई सम्मानस्वरूप पोशाक वितरण गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ताले पोशाक वितरण गर्दै विद्यार्थीहरुलाई आगामी शैक्षिक यात्रा सफल बनाउन प्रेरित गरे। उनले भने, “तपाईंहरूको विद्यार्थी जीवनको यो कालखण्ड फिर्ता आउँदैन। यसलाई राम्रोसँग सदुपयोग गर्नुपर्छ। उच्च शिक्षा वा अन्य व्यावसायिक मार्ग अपनाउँदै आफ्नो जीवनलाई सफल बनाउनुपर्छ।” अध्यक्ष गुप्ताले स्थानिय तहबाट शिक्षा, स्वास्थ्य, कृषि, र भौतिक संरचनामा सुधार गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।
उनले भने, “नेपाल सरकारले शिक्षा सम्बन्धी स्पष्ट नीतिहरू नल्याएको कारणले अहिले पनि शिक्षाको क्षेत्रमा धेरै समस्या छन्। शिक्षकको अभाव र नियुक्तिमा देखिएको राजनीति सुधार गर्नुपर्छ। गाउँपालिकाले नमुना विद्यालय निर्माण गर्ने प्रयास जारी राख्नेछ।” कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष पहलाद गुप्ता, वडा अध्यक्ष मोजिलाल साह, शिक्षा प्रमुख सत्रुधन यादव, कार्यपालिका सदस्य बलिस्टर साह, र विद्यालयका प्रधानाध्यापक लगायत शिक्षक, अभिभावक, विद्यार्थी, पत्रकार र सुरक्षाकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
पोशाक वितरण समारोहले विद्यार्थीहरुलाई सम्मानित महसुस गराउनुका साथै गाउँपालिकाले शिक्षा क्षेत्रमा दिएको प्राथमिकतालाई झल्काएको छ। कार्यक्रमका दौरान सहभागीहरूले स्थानीय तहको प्रयासको प्रशंसा गर्दै भविष्यमा अझ बढी सहयोग र सुधारको अपेक्षा व्यक्त गरेका छन्।























