माओबादी केन्द्रलाई पेरिसडाँडामा मन्त्री छान्न सकस


काठमाडौ । पेरिसडाँडामा बसेको नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठकमा मन्त्री छान्न सकस भएको छ । असार २९ गतेकै दिन काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त हुँदै थिए । उसै दिन सानो आकार मन्त्रिमण्डल गठन गर्नैपर्ने बाध्यता थियो । यसका लागि माओवादीले तत्कालै शपथ खाने मन्त्रीहरूको टुङ्गो लगाउनुपर्ने स्थिति थियो र त्यसैका लागि पेरिसडाँडामा स्थायी कमिटीको बैठक डाकिएको थियो ।
दलीय गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा माओवादी केन्द्रले मन्त्रीहरू छान्न बोलाएको बैठकमा पार्टीले कति वटा र कुन–कुन मन्त्रालय पाउने भन्ने नै टुङ्गो थिएन । आफ्नो भागमा परेको मन्त्रालयको पहिचान नै नभएपछि बैठकबाट मन्त्रीहरूको टुङ्गो लाग्ने कुरै भएन ।
प्रतिनिधि सभा विघटनविरुद्ध गठबन्धन बनाएर सङ्घर्षरत काँग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र एमालेको माधव समूह र जनमोर्चाबीच देउवालाई प्रधानमन्त्री बनाउनेमा दुई मत नभए पनि उनीहरूबीच ‘सत्ता सेयरिङ’बारे कुनै ठोस गृहकार्य नभएको पेरिसडाँडामा छर्लङ्ग भयो ।
एकातिर गठबन्धनमा कुन मन्त्रालय पाउने भन्नेबारे ठोस गृहकार्य भएको थिएन, अर्कोतिर दलभित्रै मन्त्रीका आकाङ्क्षीहरू बढेका कारण असार २९ गते माओवादी स्थायी समिति बैठकले मन्त्री छान्न सकेन ।
तथापि सर्वोच्चको फैसलाबमोजिम सोही दिन सानो आकारको मन्त्रिमण्डल गठन गर्न गठबन्धनभित्रका दललाई दबाब थियो । यो अवस्थामा माओवादी र काँग्रेसले असार २९ गते नै मन्त्रीहरू छान्नुपर्ने स्थिति थियो ।
देउवा नेतृत्वको सरकारमा माओवादीले कति वटा र कुन मन्त्रालय पाउने भन्ने नै अनिश्चित भएपछि माओवादी केन्द्रलाई बैठकबाट मन्त्री छान्न सकस भयो । अन्ततः कुन–कुन मन्त्रालय माओवादीले पाउँछ भन्नेबारे देउवासँग बुझ्न पेरिसडाँडा बैठकले प्रचण्डलाई जिम्मा दियो ।
देउवा र प्रचण्डको छलफलबाट मन्त्रालयको टुङ्गो लागिसकेपछि पुनः स्थायी कमिटी बसेर मन्त्रीको छनोट गर्ने २९ गतेको बैठकको स्पिरिट रहेको एक स्थायी कमिटी सदस्य बताउँछन् ।






















