मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

पत्रकार महासंघ बाजुराको पहिलो बैठक पोरखेगढी सम्पन्न

उमेश रोकाया
२०८१ माघ ६ | मध्यान्ह ०१:१० बजे

बाजुरा, माघ ०६ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराको पहिलो बैठक जिल्लाको पर्यटकीय गन्तव्य पोरखेगढीमा बसेको छ । पत्रकार महासंघ जिल्ला शाखाको नयाँ कार्यसमितिले पहिलो बैठक पोरखेगढीमा गर्ने भन्ने निर्णय बमोजिम सो बैठक शनिवार सम्पन्न भएको हो । बाजुराको पर्यटकीय गन्तव्यका रुपमा रहेको पोरखेगढीको पहिचान, पर्यटन प्रवद्र्धन र विकासमा महत्वपूर्ण सहयोग पुग्ने विश्वासका साथ महासंघले सम्पूर्ण पत्रकारहरुको सहभागीतामा पहिलो बैठक पोरखेगढीमा बसेको सचिव प्रेम बहादुर रौलेले बताएका छन् ।

‘गन्तव्यको पहिचान र पर्यटन प्रवद्र्धनका लागि’ भन्ने नारा दिँदै जिल्लाको पर्यटकीय गन्तव्य पोरखेगढीमा सम्पन्न पत्रकार महासंघ जिल्ला शाखाले पहिलो बैठकबाट विभिन्न निर्णयहरु समेत गरेको छ । पोरखेगढीमा बसेको महासंघको पहिलो बैठकले ७ बुदेँ पोरखे घोषणा पत्र, महासंघको निर्वाचनमा सहयोग गर्ने निर्वाचन समिति सहित सबेलाई धन्यवाद, जिल्लाबाट सुदूरपश्चिम प्रदेश समितिमा निर्वाचित सदस्यलाई हार्दिक बधाई तथा शुभकामना दिने निर्णय गरेको अध्यक्ष पदम बहादुर सिंहले बताएका छन् । त्यस्तै महासंघका बैठक जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय स्थलमा गर्ने कार्यको निरन्तरता, पत्रकार महासंघको स्थापना दिवसको अवसरमा जिल्ला शाखाले प्रदान गर्दै आएको क्रियासिल पत्रकारीता पुरस्कार विगतका बर्षमा रोकिएकोमा अवदेखि पुनः निरन्तरता दिने लगायतका निर्णय गरिएको अध्यक्ष सिंहले बताए ।

महासंघको पहिलो बैठकमा बोल्दै पत्रकार महासंघ अछामका अध्यक्ष रमेश रावतले पोरखेगढीको पहिचान र पर्यटन प्रवद्र्धनका लागि पहिलो बैठक गरेको भन्दै छुट्टै खालको इतिहास रच्ने विश्वास व्यक्त गरे । त्यस्तै बैठकमा सहभागी छिमेकी जिल्ला अछाम शाखाका अध्यक्ष रमेश रावत, सचिव भानु ढकालसहित नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति सचिव धनराज साउँद र सदस्य दिनेश केसीलाई मायाकाे चिनाे समेत प्रदान गरिएकाे थियाे ।

नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष पदम बहादुर सिंहको अध्यक्षतामा सञ्चालन भएको पहिलो बैठकको प्रमुख अतिथि बडीमालिका नगरपालिका ७ का अध्यक्ष तथा नगर प्रवक्ता धर्मराज पाध्याय रहेका थिए । त्यस्तै बैठकमा महासंघ जिल्ला शाखाका सम्पूर्ण पदाधिकारी, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति सचिव धनराज साउँद, प्रदेश समिति सदस्य दिनेश केसी, पत्रकार महासंघ अछामका अध्यक्ष रमेश रावत, सचिव भानु ढकाल, जिल्ला स्थित विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

कमेन्टहरु