लुम्बिनी प्रदेशसभा बैठकबाट सत्तापक्ष एकाएक बाहिरिएपछि प्रदेशसभा बैठक स्थगित


बुटवल । लुम्बिनी प्रदेशसभा बैठकबाट एकाएक बाहिरिएको सत्तापक्ष बैठक कक्षमा नफर्किएपछि लुम्बिनी प्रदेशसभा बैठक शुक्रबार दिउसो १ बजेसम्मका लागि स्थगित गरिएको छ।
सत्तारुढ दल एमालेका सांसदहरु बाहिरिएपछि अलमलमा परेका सभामुख पुर्णबहादुर घर्तीले थप छलफलका लागि भन्दै बैठक स्थगित गरेका हुन् ।
यसअघि प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले जनता समाजवादी पार्टीका ४ जना सांसदको मुद्दा अदालतमा विचाराधीन रहेकाले अझै धैर्य गर्न विपक्षी दलहरुलाई आग्रह गरेका थिए ।
पोखरेलले प्रदेशवासीको आकांक्षा पूरा गर्न बजेट महत्वपूर्ण रहेको भन्दै बजेट पास गर्नका लागि सहयोग गर्न पनि विपक्षी दलहरुलाई आग्रह गरेका थिए । उनले संविधानको अर्को धारा अनुसार नयाँ सरकार गठनका लागि आफ्नो रुची नभएको पनि बताए ।
बैठकमा एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले समामुखसँग छलफलका लागि थप समय माग गरेका थिए । लुम्बिनी प्रदेश सरकारले असार १ गते आर्थिक वर्ष २०७८÷८९ को बजेट पेस गरेको थियो ।
उक्त बजेटलाई प्रदेशसभामा निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहे पनि सत्ता पक्षका सांसदहरु प्रदेशसभाबाट बाहिरिएका हुन् ।























