प्रधानमन्त्री देउवाले माधव नेपाल पक्षलाई ८ मन्त्रालय दिने तयारी, नेपाल पक्ष भने तत्काल सरकारमा सहभागी हुन असम्भव


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले माधव नेपाल पक्षलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । हिजो नेता नेपालको निवासमा पुगेरै प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुनको लागि आग्रह गरेको स्रोतको दाबी छ ।
तर, नेता नेपालले अहिले तत्कालै सरकारमा सहभागी हुने वा नहुने भन्ने कुरा केही दिनपछि मात्रै भन्न सकिने जवाफ दिएका थिए । आफूहरु एमाले एकताको लागि प्रयासरत रहेकोले तत्काल सरकारमा सहभागी हुने कुरा सम्भव नभएको नेता नेपालको भनाई थियो ।
माधव नेपाल पक्षधर सांसदहरुकै कारण देउवा प्रधानमन्त्री बनेका हुन् । प्रधानमन्त्री देउवाले तत्कालै विश्वासको मत लिने तयारीका साथ नेता नेपाललाई सरकारमा पनि आउन आग्रह गरेका हुन् । नेता नेपालले विश्वासको मत भने दिने वचन दिएका छन् ।
नेपाल पक्षधर २३ जना सांसदहरुले देउवालाई प्रधानमन्त्री बनाउनको लागि सर्वोच्चको रिट निवेदनमा हस्ताक्षर गरेका थिए । नेता नेपाल पक्षले आफूलाई विश्वासको मत दिए देउवाले सम्मानजनक रुपमा उक्त पक्षलाई सरकारमा सहभागी गराउने तयारी थालेका छन् ।
देउवानिकट उच्च स्रोतका अनुसार नेपाल पक्षलाई ८ वटा मन्त्रालय दिनेसम्मको तयारी छ ।























