प्रदेश नं २ मा लोक सेवा आयोगले २ सय बढी कर्मचारी भर्नाको आह्वान

जगत ठाडा मगर
२०७८ असार ३१ | मध्यान्ह ०२:०३ बजे

काठमाडौं । प्रदेश नं २ मा लोक सेवा आयोगले विभिन्न पदका लागि दुई सयभन्दा बढी सिटमा कर्मचारी भर्नाको विज्ञापन प्रकाशित गरेको छ ।
आयोगले बिहीबारको दिन नवौं र एघारौं तहको बढुवा तथा सातौं तहको खुला र बढुवाको विज्ञापन प्रकाशित गरेको हो । प्रदेश २ मा लोक सेवा आयोगले कर्मचारी भर्नाका लागि विज्ञापन खुलाएको यो तेस्रो पटक हो ।
यसअघि गत फागुनमा सातौं तहको इन्जिनियरिङ र जेठको अन्तिम साता नवौं तहको विज्ञापन खुलाएको थियो । यस पटक अधिकृत सातौं तहमा बढुवाका लागि ४२ जना तथा खुला, समावेशी र अन्तर सेवा प्रतियोगिताबाट पदपूर्ति गर्न ८१ जनाका लागि विज्ञापन खोलिएको छ ।
यसैगरी बढुवामार्फत् पदपूर्ति गर्न एघारौं तहमा ५ जना र नवौं तहमा ६६ जनाका लागि विज्ञापन प्रकाशित गरिएको छ ।























