साउन १ गतेदेखि लामो दुरीका सार्वजनिक गाडी जोर-बिजोर प्रणालीमा चलाउने तयारी, उपत्यकामा तत्काल कडाइ नगरिने


काठमाण्डौ । साउन १ गतेदेखि लामो दुरीका सार्वजनिक गाडी जोर-बिजोर प्रणालीमा चलाउन दिने तयारी भएको छ । यसबारे आज स्वास्थ्य मन्त्रालय सहित काठमाण्डौ उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयका प्रमुख र सम्बन्धित अन्य निकायको बैठक बस्दैछ ।
ललितपुर प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार लामो दुरीका गाडी नचल्दा नागरिकले धेरै दु:ख पाएको भन्दै जोर-बिजोर प्रणालीमा भए पनि सार्वजनिक गाडी चलाउन दिने तयारी भएको जानकारी दिनुभयो । अत्यावश्यक कामका लागि काठमाण्डौ आउनै पर्ने यात्रुहरुले तेब्बर-चौबर भाडा तिर्नु परेको गुनासो बढेपछि जोर-बिजोर प्रणालीमा लामो दुरीका गाडी चलाउने तयारी थालिएको हो ।
यसबारे बेलुकासम्ममा निर्णय हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी निरौलाले बताउनुभयो । यस्तै बजारमा भोलिदेखि निषेधाज्ञा कडा पार्ने हल्ला चलेको भन्दै उहाँले हल्लाको पछि नलाग्न पनि आग्रह गर्नुभएको छ । अहिले कोरोना सङ्क्रमण जोखिम नै रहेकाले साउन १ गतेदेखि कडा निषेधाज्ञा हुने हल्ला फैलिरहेको छ ।
तर हल्ला फैलिए जस्तो कुनै पनि गतिविधि नहुने हुँदा किनमेलका लागि बजारमा भिडभाड नगर्न पनि उहाँको आग्रह छ । यसैबीच काठमाण्डौ उपत्यकामा निषेधाज्ञालाई निरन्तरता नै दिने तयारी भएको छ । अहिलेको जस्तै खुकुलो बनाएर केही दिन निषेधाज्ञालाई लम्ब्याउने तयारी गरिएको हो ।
उपत्यकामा पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको अवधि आज राति १२ पछि सकिँदैछ । उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको हो ।























