अपराध

रवि लामिछाने अब रूपन्देही आउनुपर्ने, सुप्रिम सहकारीको मुद्दा दर्ताको तयारी

नवलपुर टुडे
२०८१ माघ ३ | बिहान ०६:१० बजे

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने अब सुप्रिम सहकारी ठगीको मुद्दाको प्रतिवादका लागि रुपन्देही जिल्ला अदालतमा हाजिर हुनुपर्ने भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीले बिहीबार नै अभियोगपत्र दायर गर्ने तयारी गरेको छ । ढिलोमा शुक्रबार सम्म अभियोग पत्र दर्ता हुन सक्ने स्रोतले जनाएको छ । इलाका प्रहरी कार्यालय, बुटवल, रूपन्देहीले सुप्रिम सहकारी ठगीको दोस्रो चरणको अनुसन्धान सकेर गत बिहीबार नै प्रहरीलाई रायसहितको प्रतिवेदन बुझाइसकेको छ। त्यसको एक सातापछि मात्रै सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गर्न लागेको हो।

सुप्रिम सहकारीमा पहिल्यै २८ जना प्रतिवादीविरुद्ध मुद्दा दर्ता भइसकेको छ। अहिले थप १४ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्न लागिएको हो। नेपाल प्रहरीका पूर्वडीआईजी एवं रविका व्यावसायिक साझेदार छविलाल जोशीलाई पनि दोस्रो चरणको मुद्दामा प्रतिवादी बनाउन लागिएको छ। उनलाई पनि रविलाई जति नै बिगो कायम गर्ने तयारी छ।

सुप्रिम सहकारीको १ अर्ब १२ करोड रूपैयाँ संगठित तवरले ठगी गर्ने गिरोहमा रवि सामेल रहेको प्रहरी अनुसन्धानको निष्कर्ष छ। त्यहाँ पनि सहकारी ठगी र संगठित अपराधको कसुरमा अभियोग दायर गर्न लागिएको छ। सम्पत्ति शुद्धीकरणमा भने कास्की अदालतमै मुद्दा दायर भइसकेकाले अन्यत्र नचलाइने भएको छ।

रविसमेत मुछिएको सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय, चितवन र पर्साले पनि अनुसन्धान अन्तिम चरणमा पुर्‍याएका छन्। अब बुटवलमा सकिएपछि चितवनमा मुद्दा दर्ता गर्ने र त्यसपछि पर्सामा मुद्दा दर्ता गर्ने सरकारी वकिलको तयारी छ।

कमेन्टहरु