देश

ओलीले एकताको ढोका बन्द गर्नुभयो, अब राष्ट्रिय सरकार बनाउनुपर्छ माधब नेपाल

जगत ठाडा मगर
२०७८ असार ३१ | बिहान ०८:०३ बजे

काठमाडौ । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले अब एमालेसहितको राष्ट्रिय सरकार बनाउनुपर्ने बताएका छन् ।

photo 2021 07 15 08 30 31

पुनस्र्थापित संसदलाई बचाउनुपर्ने र महामारी लगायतका चुनौतीको सामना गर्नुपर्ने भएकाले राष्ट्रिय सरकारको आवश्यकता रहेको नेता नेपालको विश्लेषण छ । कोटेश्वरस्थित आफ्नै निवासमा बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटका क्रममा नेता नेपालले अब सिंगै एमालेले संस्थागत रुपमा सरकारलाई विश्वासको मत दिनुपर्ने बताए ।

एमालेबाट संस्थागत निर्णय हुन सकेन भने पनि सांसदहरुले स्वतन्त्र रुपमा विश्वासको मत दिएर संसद र सरकारलाई टिकाउने नेता नेपालले प्रधानमन्त्री देउवालाई आश्वस्त पारे । प्रधानमन्त्री देउवासँग भएको कुराकानीबारे सोधिएको प्रश्नमा नेता नेपालले रातोपाटीसँग भने, ‘अहिले कसैले पनि मध्यावधि चुनाव चाहेकै छैन । केपी ओलीका लागि पनि अहिले नै चुनाव चाहिएको छैन ।

पार्टी एकताको काम पनि बाँकी नै छ । त्यसैले देशलाई अस्थिरतातिर जान नदिनका लागि सबैले एकमत भएर संसदलाई बचाउनुपर्छ ।’ एमाले नेता नेपालले आगामी चुनावसम्म राष्ट्रिय एकताको सरकार बनाएर अघि बढ्न आवश्यक रहेको बताउँदै भने, ‘कोभिडसँग जुध्नुपर्नेछ, आर्थिक संकटको सामना गर्नुपर्नेछ, बाढी पहिरो पीडितको समस्या समाधान गर्नुपर्ने छ, राष्ट्रियताको जगेर्ना गर्नुपर्नेछ, संघीयतालाई जोगाउनुपर्ने र संस्थागत गर्नुपर्नेछ र विकासका कामहरु गर्नुपर्नेछ ।

photo 2021 07 15 08 30 30

यी सबै कामका लागि अब लडाइँ–झगडा बन्द गरेर चुनावसम्म राष्ट्रिय एकताको सरकार बनाएर अघि बढ्नुपर्छ ।’ नेता नेपालले थपे, ‘चुनावपछि आ–आफ्नो तरिकाले अघि बढौँला, तर चुनावअघि सबैले मिलेर यो संसदलाई जोगाउनुपर्छ । चुनौतिहरुको सामना गर्नुपर्छ ।’

‘ओलीले एकताको ढोका बन्द गर्नुभयो’

बुधबार बालकोटबाट एमाले अध्यक्ष केपी ओलीले माधव नेपाललाई गद्दार घोषणा गर्दै माफी नदिइने बताएका थिए । निवर्तमान प्रधानमन्त्री ओलीको यस्तो अभिव्यक्तिले अब पार्टी एकता र १० बुँदे सहमतिको स्थिति के होला भन्ने प्रश्नमा नेता नेपालले ओलीलाई ‘बर्बराउन छाडेर धर्तीमा उभिन’ सुझाव दिए ।

ओलीले पार्टी एकताको ढोका बन्द गरेको उनले बताए ।
‘उहाँले एकताको ढोका बन्द गर्नुभएको छ, उहाँ बर्बराउन थाल्नुभएको छ, नग्न स्वरुप देखाउनुभएको छ’ बरिष्ठ नेता नेपालले रातोपाटीसँग भने, ‘उहाँ सत्ताको नसाबाट तल आउनुपर्छ । धर्तीमा उभिनुपर्दछ ।

निरंकुशताबाट मुक्त हुनुपर्छ । अराजकहरुको मण्डलीबाट मुक्त हुनुपर्छ ।’ केपी ओली अराजकतत्वहरुको पछि लागेको बताउँदै नेता नेपालले अगाडि भने, ‘अराजक तत्वहरुले कम्युनिस्ट पार्टीलाई सिध्याउँछन् । ओलीले यसैगरी पार्टी र आन्दोलनलाई गलत दिशामा हिँडाउन खोज्नुभयो भने उहाँको योभन्दा ठूलो पतन हुनेछ ।’

‘राष्ट्रपतिबाट विचित्रको व्यवहार भयो’

मंगलबार साँझ शीतल निवासमा प्रधानमन्त्री शेरबहादुर देउवाको सपथग्रहण कार्यक्रममा राष्ट्रपतिबाट अशोभनीय र विचित्रको व्यवहार भएको नेता नेपालले बताए । नेपालले भने, ‘राष्ट्रपतिबाट बधाई पनि नदिने, नयाँ प्रधानमन्त्रीसँग परिचय पनि नगराइदिने विचित्रको व्यवहार भयो । यसरी राष्ट्र प्रमुखले सानो चित्त राख्नुहुँदैन ।’

सपथग्रहण कार्यक्रममा आफ्नो उपस्थितिलाई लिएर केपी ओली पक्षका मानिसहरुले असभ्य टिप्पणीहरू गरेको बताउँदै नेता नेपालले भने, ‘केही मानिसहरु बहुलाएका छन् ।’

‘गठबन्धनबाट बाहिरिएको छैन’

माधव नेपाल पाँच दलीय गठबन्धनबाट बाहिरिएको चर्चा छ, यसरी किन बाहिरिनुभएको भन्ने प्रश्नमा एमाले नेता नेपालले प्रतिप्रश्न गरे, ‘मैले हाम्रो पार्टीमा १० बुँदे समझदारी भएको छ, पार्टी एकताको प्रयास भइरहेको छ, यो परिस्थितिलाई तपाईहरुले बुझिदिनुपर्छ भन्दा कसरी गठबन्धनबाट बाहिरिएको हुन्छ ?’

नेता नेपालले गठबन्धनबाट आफूले बाहिरिएको घोषणा नगरेको स्पष्ट पारे । आफू गठबन्धनबाट बाहिरिएको भन्दै कतिपय विश्लेषकले माधव नेपाल धोकेबाज हुन् भनेको प्रति उनले आपत्तिसमेत जनाए ।

बुधबार नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले माधव नेपालको भूमिकाको उच्च प्रशंसा गरेका थिए । नेता नेपालले राष्ट्रिय एकताको कुरा गरेको भन्दै प्रधानमन्त्री देउवाले अब नेकपा एमाले पनि सरकार सहभागी हुने अपेक्षा गरेका थिए ।

नेपालसँगको भेटपछि प्रधानमन्त्री देउवा आफूले प्रतिनिधिसभामा विश्वासको मत पाउनेमा ढुक्क बनेर फर्केका छन् ।

कमेन्टहरु