देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो

धरान (सुनसरी), माघ १ । धनु राशिबाट सूर्य मकर राशिमा प्रवेश गर्ने दिन आज पवित्र धामका रुपमा परिचित बराहक्षेत्र, देवघाट, रिडी, त्रिवेणी, गोदावरी धाम, कालीगण्डकीलगायत नदीमा मकर सङ्क्रान्ति स्नान गर्ने भक्तजनको भीड लागेको छ ।
यसैबीच कालीगण्डकीअन्तर्गत पर्वतको प्रसिद्ध धार्मिकस्थल मोदीवेणी, सेतीवेणी, पुर्तिघाट, जैमिनीघाट, नयाँपुललगायत स्थानमा बिहानदेखि भक्तजनको भीड लागेको छ । बिहानै कालीगण्डकीमा स्नान गरी तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।
पर्वत सदरमुकाम कुश्माबजार, फलेवास, शालिग्रामलगायतका स्थानबाट भक्तजन स्नान गर्न आइपुगेका हुन् । पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतीवेणीमा आज विशेष मेला लागेको छ । यहाँ विश्वकै ठूलो शालिग्राम शिलाको दर्शन गर्न र स्नान गर्न भक्तजनको भीड लागेको स्थानीय तिलक पराजुलीले जानकारी दिनुभयो ।
त्यसैगरी, पवित्र देवभूमि—वेदभूमिको प्रवेशद्वार मानिने कैलालीको गोदावरीधाममा ‘बाह्रराशि दर्शन मकर मेला’ प्रारम्भ भएको छ । बाह्रराशि दर्शन मेला हुने भएपछि गोदावरीधाम क्षेत्रमा भक्तजनहरुको चहलपहल बढेको छ । गोदावरी नगरपालिकाले भक्तजनका लागि बस सेवा उपलब्ध गराएको छ ।
आजदेखि यही माघ १२ गतेसम्म १२ दिवसीय बाह्रराशि दर्शन मकर मेला सुरु भएको आयोजक गोदावरीधाम विकास समितिका अध्यक्ष पदमराज जोशीले बताउनुभयो । सुदूरपश्चिम प्रदेशका सातवटा पहाडी जिल्लाको मुख्य प्रवेशद्वार, चुरे पहाडको फेदमा रहेको यो क्षेत्रलाई सप्त गोदावरीमध्येको प्राचीन गोदावरीका रुपमा लिने गरिन्छ । यहाँ पवित्र गोदावरी नदी, मठमन्दिर, धर्मशाला र बौद्ध गुम्बा छन् । यो क्षेत्रमा भगवान् श्रीकृष्णले स्नान गरेको स्कन्द पुराणमा उल्लेख छ ।























