पार्टी एकता र मजबुतीका लागि जस्तो सुकै कुर्बानी दिन आफू तयार : पुर्व मन्त्री गुरुङ


काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री महादेव गुरुङले पार्टी एकताका लागि आफू जस्तोसुकै कुर्बानी दिन तयार रहेको बताएका छन् । एभरेष्ट एफएममा पत्रकार दीपेन्द्र श्रेष्ठसँगको अन्र्तवार्तामा उनले आफू कुनै पनि पदका लागि भनेर अघि नसर्ने भन्दै अब कांग्रेसलाई प्रदेश र देशैभर एक ढिक्का बनाएर संसदीय निर्वाचनमा बलियो पार्टीका रुपमा अघि सार्न भूमिका खेल्ने बताए ।
विगतमा कास्कीको पार्टी संगठन, जिल्ला सभापति, तरुण दल अध्यक्ष आदिमा रहँदा आफूले निरन्तर संगठन निर्माणमा भूमिका खेलेको स्मरण गर्दै उनले पार्टीलाई बाह्य प्रभावबाट मुक्त गराउनुपर्ने विषयमा विवाद हुँदा पदमा नरहेको बताए । ‘मेरा लागि पद ठूलो हुन्थ्यो भने मैले गिरिजाबाबु वा शेरबहादुरसँग सम्झौता गरेर बस्थें होला’ उनले भने,‘तर पार्टीमा बाह्य प्रभावबाट मुक्त हुनुपर्छ भन्दा नेतृत्वसँग मेरो डिफरेन्स रह्यो ।’
नेता गुरुङले कास्कीमा कतिपय पुराना नेताहरुले सदस्यता नवीकरण नगरेको विषयले आफूलाई बिझाएको भन्दै सबैको योगदानको सम्मान हुनुपर्ने बताए ।
महाधिवेशनमा पद मेरा लागि ठूलो कुरा होइन
उनले आसन्न महाधिवेशनले कांग्रेसलाई सैद्धान्तिक र सांगठनिक हिसाबले बलियो बनाउनुपर्ने बताए । ‘कांग्रेसको आफ्नै स्ट्याण्ड छ , हुनुपर्छ । अरुरुले जे भन्दिन्छ त्यही गर्दिने रोकिनुपर्छ,’ उनले भने ।
कुनै समय पार्टी तत्कालीन सभापति गिरिजाप्रसाद कोईरालाको बेडरुमसम्म पहुँच भएका र मन्त्री भैसकेका गुरुङ आफू निष्क्रिय नरहेको भए पनि पदमा नरहँदा त्यस्तो देखिएको हुन सक्ने बताउँछन् ।
तर यसपालीको महाधिवेशनमा पार्टीलाई बलियो र प्रभावकारी बनाउन भूमिका खेल्ने उनले बताए । ‘कुनै पदका लागि मेरो चाहना छैन तर एकता र मजबुतीका लागि जस्तोसुकै कुर्बानी तयार छु । भनेर मात्र होइन म गरेरै देखाउँछु,’ पूर्व मन्त्री गुरुङले भनेका छन् ।























