देश

भारत सरकारले प्याजको निर्यात रोकेपछि नेपालमा प्याजको मूल्य बढ्यो ।

kushal
२०७७ भदौ ३० | मध्यान्ह ०५:०५ बजे

काठमाडौ । भारत सरकारले प्याजको निर्यात रोके पछि नेपालमा प्याजको मूल्य बढेको छ । प्याज पनि नपाइने भएको छ । आक्कल झुक्कल कुनै पसलमा पाइने प्याज पनि अचाक्ली महँगो छ ।

भन्सार विभागका महानिर्देशक सुमन दाहालले भारतले प्याज निर्यात रोकेको जानकारी दिए । भारतबाट २९ भदौ देखि प्याज नआएकाले नेपालमा अभाव भएको व्यापारीहरु बताउँछन् । काठमाडौंको कालिमाटीस्थित तरकारी बजारमा आलु-प्याजको होलसेल व्यापार गर्दै आएका दधिराम उप्रेतीले भने, ‘भारतबाट प्याज आउन छोडेपछि नेपालमा पनि पाउनै छोड्यो ।’

कुनै व्यापारीहरुसँग भएको प्याज पनि महँगोमा बिक्री भइरहेको छ । व्यापारीहरुले एक किलो प्याजको मूल्य ८० रुपैयाँभन्दा बढी लिने गरेको उपभोक्ताहरु बताउँछन् । जबकी अघिल्लो दिनसम्म प्याज ६६ रुपैयाँ प्रतिकिलोमा पाइन्थ्यो ।

भारतले निर्यात रोकेको बहानामा व्यापारीहरुले स्टकमा रहेको प्याजको कृत्रिम अभाव सिर्जना गर्दै महँगोमा बेचिरहेको आशंका उपभोक्ताहरुको छ ।

भारत सरकारले प्याजको मूल्य अत्यधिक बढेको भन्दै निर्यात बन्द गरेको हो । निर्यात बन्द गरेपछि बजारमा प्याज प्रशस्त पाइने र मूल्य पनि कम हुने भारत सरकारको विश्लेषण छ ।

कमेन्टहरु