प्रेमीसँग मिलेर श्रीमानको हत्या : १४ महिना पछि अस्थिपञ्जर निकालियो


गैडाकोट । नवलपुरमा (नवलपरासी बर्दघाट सुस्ता पूर्व) प्रहरीले हत्या आरोपमा घटना भएकोको १४ महिना पछि गैंडाकोट हुर्जिलका दुई जनालाई पक्राउ गरेको छ ।गैंडाकोट नगरपालिका–१८ हुर्जिलका फूलमाया सुगरपार्क मगर र मेखबहादुर सुनारी मगर पक्राउ परेका छन । फूलमायाले प्रेमी सुनारीसँग मिलेर श्रीमान धनबहादुर सुगरपार्क मगरको हत्या गरेकी हुन् ।
१४ महिना अघि ४० वर्षीय धनबहादुर बेपत्ता भए पछि प्रहरीले अनुसन्धान थालेको थियो । धनमायाको मेख बहादुर सुनारी सँगको सम्बन्धबारे गाउँलेले सूचना दिए पछि उनीहरू माथि निगरानी बढाएको थियो । प्रहरीले सोमबार राति पक्राउ गरि अनुसन्धान गर्दा फुलमायाले मेखबहादुर सँग मिलेर हत्या गरी शव गाडेको बताएकी छन् ।
उक्त बयानका आधारमा प्रहरीले मंगलबार शव गाडेको स्थानमा खनेर अस्थिपञ्जर निकालेको छ । गैंडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाका अनुसार उक्त अस्थिपञ्जर डीएनए परीक्षणका लागि अहिले चितवन अस्पताल लगिएको छ ।
श्रीमानको हत्या पछि शव घरदेखि एक किलोमिटर टाढा सुन्दरी सामुदायिक वनमा गाडिएको हो । धनबहादुर र फूलमायाका दुई छोराछोरी छन् । प्रहरीका अनुसार धनबहादुरले अवैध सम्बन्ध बारे थाहा पाए पछि फूलमाया र मेखबहादुरले धनबहादुरको हत्या गरेको अनुसन्धानले देखाएको छ ।























