कृषि

गोलभेंडा बेचेर वर्षमा सात लाख चोखो कमाइ

दिप्शन गुरुङ
२०८१ पुस १६ | मध्यान्ह १२:०९ बजे

दाङ । दाङको घोराही उपमहानगरपालिका–१२ हापुरका जयबहादुर रोकाको बारीमा यतिबेला लटरम्मै टमाटर पाकेको छ । बारीबाटै टमाटर बिक्री गर्न भ्याइनभ्याइ छ । विगत तीन वर्षदेखि व्यावसायिक टमाटर खेती गर्दै आएका रोका व्यवसायप्रति सन्तुष्ट छन् ।

वार्षिक १८ लाखको टमाटर बिक्री गरे पनि मल, बीउ, कामदार, जग्गा भाडालगायत सबै खर्च कटाएर त्यति बचत हुने गरेको उनको भनाइ छ । ‘१० जनालाई रोजगारी दिएको छु’, रोकाले भने, ‘पहिले रोल्पामा पनि कृषि व्यवसाय गरेको थिएँ तर सडकको अवस्थाका कारण बजारीकरणमा समस्या थियो ।’

मंसिरसम्म थोकमा प्रतिकिलो रु ५० का दरले बिक्री गरेको र हाल भाउ घट्दै गएको उनले बताए । उनले तीन बिघा जग्गा भाडामा लिएर टमाटर खेती गरेका छन् । आफ्नो साढे १२ कट्ठा मात्रै जग्गा भएकाले बाँकी जमिन भाडामा लिएको उनले बताए । जग्गाको वार्षिक भाडा ९८ हजार तिर्ने गरेका छन् । परिवारमा आठ सदस्य छन् । टमाटर खेतीकै कमाईले छोराछोरीलाई शिक्षादीक्षा गराइरहेका छन् । गत वर्ष रोग, किराले टमाटर उत्पादन केही ढिला हुँदा घाटा व्यहोरेको भए पनि यस वर्ष आम्दानी सन्तोषजनक रहेको उनी बताउँछन् ।

कमेन्टहरु