पाइपलाइनबाटै पेट्रोल आउने भएपछि थप पेचिलो बन्दै ट्याङ्कर व्यवस्थापन

मोतिहारी, पुस १५ । मोतिहारी अमलेखगञ्ज पाइपलाइन परियोजना दोस्रो चरणको निर्माण सम्पन्न भएसँगै बरौनी–अमलेखगञ्जमा पेट्राल तथा मट्टितेल ढुवानी गर्दै आइरहेका एक सय चारवटा ट्याङ्कर विस्थापित हुने भएका छन्। आयल निगमले पेट्रोल र मट्टितेल पनि पाइपलाइनबाटै ल्याउने भएसँगै एक सय चार टैक–ट्र्याङ्करको व्यवस्थापनको विषय पेचिलो बन्दै गइरहेको छ।
‘‘हामीले आइतबारदेखि आन्दोलन गर्ने कार्यक्रम सार्वजनिक गरेका थियौँ। हाम्रो मागको सम्बन्धमा आयल निगमबाट पत्र आएकाले पनि १० दिनको लागि स्थगन गर्ने निर्णय गरेका छौँ,’’ उनले भने। अमलेखगञ्ज पेट्रोलियम ढुवानी व्यवसायी सङ्घ, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन ईकाइ अमलेखगञ्ज र नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घ ईकाइ अमलेखगञ्ज लगायतले आयल नियमले आफ्नो जायज माग पूरा नगरेको भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्।
नेपाल आयल निगम प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रलङ्कर आचार्यले ढुवानी व्यवसायीले राखेका माग प्रादेशिक कार्यालयले सम्बोधन गर्न नसक्ने खालका रहेको जानकारी दिए। ‘‘विभिन्न तीन सङ्गठनले राख्नुभएको माग प्रादेशिक कार्यालय सम्बोधन गर्न सक्ने खालका छैनन्,’’ उनले भने, ‘‘हामीले उहाँहरूले राखेको मागको विषयमा केन्द्रीय कार्यालयलाई जानकारी गराइसकेका छौँ। त्यसैले पनि उहाँहरूले केही समयका लागि आन्दोलन स्थगित गरेर सहजीकरण गरिदिनुभएको छ।’’
प्रादेशिक कार्यालयका प्रमुख आचार्यका अनुसार बरौनी–अमलेखगञ्ज रुटमा सञ्चालित एक सय चार वटा टैक–ट्र्याङ्कर प्रयोगविहीन हुनसक्ने विषयमा आवश्यक सहजीकरण गर्न केन्द्रीय कार्यालयमा पत्राचार गरिसकेको छ।























