देश

काठमाडौंमा साउन ४ गतेदेखि जोन्सन एन्ड जोन्सनको खोप लगाइने

जगत ठाडा मगर
२०७८ असार २९ | मध्यान्ह ०२:०३ बजे

काठमाडौं । अमेरिकि सरकारले कोभ्याक्स कार्यक्रममार्फत उपलब्ध गराएको जोन्सन एन्ड जोन्सनको खोप काठमाडौं उपत्यकामा साउन ४ गतेदेखि लगाउन सुरु गरिने भएको छ ।

photo 2021 07 13 14 23 29

कोभिड–१९ खोप कार्यक्रमलाई थप प्रभावकारी गर्न गठित समन्वय तथा अनुगमन समितिको बैठकले जिल्लाका ४४ वटा खोप केन्द्रबाट साउन ४–६ गतेसम्म जोन्सनको खोप लगाउने निर्णय गरेको हो ।

अमेरिकाबाट सोमबार जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाल आइपुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक डोज मात्र लगाए पुग्ने उक्त खोप ५०–५४ वर्ष उमेर समूहलाई प्राथमिकता दिने निर्णय गरिसकेको छ ।

photo 2021 07 13 14 23 27

यसैगरी उक्त खोप पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिकहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीहरुलाई समेत खोप दिने निर्णय गरेको छ ।

मंगलबारदेखि सुरु भएको भेरोसेलको पहिलो डोज खोप कार्यक्रम सञ्चालन भएकै ४४ वटा खोप केन्द्रबाट जोन्सन एण्ड जोन्सनको खोप कार्यक्रम सञ्चालन गर्ने निर्णय समितिले गरेको छ ।

काठमाडौं महानगरपालिकाको हकमा भने थप २५ वटासम्म खोप केन्द्र विस्तार गर्न सकिने निर्णय भएको छ ।

कमेन्टहरु