बझाङमा अज्ञात रोगले मकैबारी उजाड किसान चिन्तित


शिवजी मण्डेल
बझाङ । मकै बारीमा अज्ञात रोग लागेपछि बझाङ थलारा गाउँपालिकाका किसान निरास भएका छन् । लहलहाउँदो मकैको बोट अज्ञात हरियो किराले नष्ट गर्ने थालेपछि किसानहरू निरास भएका हुन् ।
हरियो किराले हलक्क बढेको मकैको बोटको गुबो र पात खाई बारीनै उजाड बनाएको थलारा गाउँपालिका वडा नं -५ का चन्द्रदेव जोशीले बताउनुभयो । त्यस्तै समस्या थलारा गाउँपालिका वडा नं ६ पिखेतमा पनि रहेको स्थानीय लक्ष्मी रोकायाले बताइन् । यसबारे थलारा गाउँपालिका कृषि शाखा सँग सल्लाह लिन खोज्दा कार्यालयमा कर्मचारी कोही नभेटिएको थलारा गाउँपालिका वडा नम्बर – ५ का चन्द्रदेव जोशीको गुनासो रहेको थियोे ।
उनका अनुसार अज्ञात रोगले थलारा गाउँपालिका वडा नं -५ को खारखोलाको करिब ५ हेक्टर जमिनमा लगाइएको मकै खेती नष्ट हुने अवस्थामा पुगेको छ । तत्काल कृषि शाखाको ध्यान जानुपर्ने उनको माग रहेको छ । अज्ञात हरियो किराले थलारा गाउँपालिका वडा नम्बर – ५, ६ मात्र नभई वडा नम्बर – ८ लगायतका अन्य वडामा पनि समस्या परेको कृषकको गुनासो रहेको छ ।
महामारी कोरोना भाइरस फैलिएपछि विदेशीएकाहरू पनि गाउँघरमा आएर खेतीपातीमा लागेका थिए , तर यसरी अज्ञात रोगले बारीमा लगाएको अन्न बाली नष्ट गर्न थालेपछि भोकमरीको अवस्था निम्तिन सक्ने किसानको दुखेसो छ ।























