देश

मन्त्रिमण्डलको गठनबारे प्रचण्ड र देउवाबीच छलफल हुँदै

जगत ठाडा मगर
२०७८ असार २९ | मध्यान्ह १२:०३ बजे

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बन्ने मन्त्रिपरिषद्को छलफलका बारेमा कांग्रेस सभापति एवं बन्न लागेका प्रधानमन्त्री शेरबहादुर देउवासँग संवाद गर्ने भएका छन्।

केही समयअघि टुंगिएको माओवादी केन्द्रको बैठकले यस विषयको निर्णय गरेको माओवादी नेता नारायणकाजी श्रेष्ठले बताए। पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकको निर्णय सुनाउँदै श्रेष्ठले ‘पार्टी अध्यक्ष प्रचण्डले तुरुन्तै सरकारको स्वरुपको बारेमा शेरबहादुर देउवासँग छलफल गर्ने र मन्त्रिपरिषद् बनाउन पहल गर्ने निर्णय भएको बताए ।’

छलफल कतिबेला र कहाँ हुनेबारे भने उनले खुलाएनन्। आज ५ बजे देउवा प्रधानमन्त्रीको पदमा नियुक्त हुने बताइएको छ। माओवादी बैठकले सोमवार सर्वोच्च अदालतले गरेको प्रतिनिधि सभा पुनर्स्थापना सम्बन्धी फैसलाको स्वागत गरेको छ।

त्यसैगरी माओवादीको बैठकले संविधान र लोकतन्त्र रक्षाका लागि आन्दोलन गर्ने नागरिक आन्दोलन, कानुन व्यवसायीहरु, आम समूदायलाई बधाई तथा धन्यवाद दिने निर्णय गरेको श्रेष्ठले बताए।माओवादीबाट को को मन्त्री बन्ने बारेमा भने बैठकमा छलफल नभएको उनले दाबी गरे।

‘नामको बारेमा छलफल भएन। कस्तो मन्त्रिपरिषद् बन्नेबारे छलफल भएपछि मात्र त्यो हुन्छ,’ श्रेष्ठले भने, ‘अहिले नै नामबारेमा प्रवेश गरेका छैनौ। देउवासँग पहिले प्रचण्डले कुराकानी गर्नुहुन्छ। अनि मात्र नामबारे छलफल हुन्छ।’

कमेन्टहरु