कांग्रेस प्रवक्ता शर्माद्वारा मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई नगदसहित खाद्यान्न वितरण


काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी पहिरो प्रभावितलाई नगदसहित खाद्यान्न वितरण गरेका छन् ।
प्रवक्ता शर्माका अनुसार एनआरएन पोर्चुगलका वरिष्ठ उपाध्यक्ष भीमसेन थापाको संयोजकत्वमा संकलन गरिएको ६ लाख ४० हजार, जर्मनीमा रहेकी नेन्सी मेयरले पठाएको दुई लाख १० हजार ८५४, झापा मेची नगरको साझा ‘मेचि अभियान’ का तर्फबाट ६० हजार सहयोग प्राप्त गरेको हो ।
त्यसैगरी अस्ट्रेलियाबाट कन्चन खड्काले हेलम्बुमा बाढीमा बेपत्ताको परिवारका लागि पठाएको ५० हजार रकम, नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सचिव झलक नेपालले प्रदान गरेको ५० हजार र सिन्धुपाल्चोकका कांग्रेसका स्थानीय कार्यकर्ता इन्द्रलोचन धितालले १० हजार नगद सहयोग गरेका हुन् ।
प्रवक्ता शर्माले बाढी-पहिरोबाट प्रभावित क्षेत्रमा पुगेर नगद १० लाख २० हजार ८६३ रुपैयाँ र दनुवार वस्तीका १०९ घरका लागि एक-एक बोराका दरले खाद्यान्न चामल हस्तान्तरण गरेका हुन् ।
मेलम्चीमा नदी कटान रोक्न जारी अभियानका लागि स्थानीय संयन्त्रलाई तीन लाख ३५ हजार रुपैयाँ, मेलम्ची पारीको दनुवार वस्तिमा बाढीले बगाएका १४ घरलाई १५ हजार ६१ रुपैयाँका दरले वितरण गर्ने गरी दुई लाख १० हजार ८५४ रुपैयाँको चेक स्थानीय गाउँको राहत समितिलाई हस्तान्तरण गरिएको प्रवक्ता शर्माले बताए ।
त्यस्तै हेलम्बुमा बाढी पीडित परिवारलाई थप राहतका लागि तीन लाख २० हजार रुपैयाँ नगद गाउँ पालिका अध्यक्षलाई हस्तान्तरण गरिएको थियो भने बाढीमा बेपत्ता भएका चार जना (मरु तामाङ , भिम भण्डारी, माधव भण्डारी , काले तामाङ) को प्रति परिवार १२ हजार ५ सय रुपैयाँका दरले नगद हस्तान्तरण गरिएको शर्माले बताए ।
पाँचपोखरीका बाढी पहिरो प्रभावित स्थानीय बिरमान स्याङ्बो, काजी स्याङ्बो, देवी तामाङ, खम्सुङ वाइबा र फुर्वा थिङको ५ परिवारलाई प्रति परिवार २० हजारका दरले नगद हस्तान्तरण गरिएको थियो ।
राहत वितरणका लागि कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागका सदस्य सागर श्रेष्ठले संयोजन गरेका थिए । मेलम्चीका स्थानीय श्रेष्ठको बाढीबाट घर, जग्गा र होटल डुबेको छ ।
राहत वितरणमा प्रवक्ता शर्मासँगै प्रेमध्वज लामा, डा डिल्ली भण्डारी, दिनेश थापा मगर, झलक नेपाल , दिब्यराज पोख्रेल , महेश खनाल, ध्रुव लुइँटेल , राजु काफ्ले, महेन्द्र बस्नेत सहभागी थिए ।






















