किसानलाई कुनै मौसममा आराम हुँदैन !

महोत्तरी, पुस १३ । करिब मध्य पुसको चिसो सिरेटोले मुटु कमाउने जाडो छ । यसै बेला महोत्तरीका किसानलाई काम भ्याइनभ्याइ छ । चिनी मिल (उद्योग) सञ्चालनमा आएसँगै उखु काट्ने, बयलगाडा र ट्याक्टरमा लोड गरेर मिल गेट पुर्याउने चटारो छ । यस्तै खुट्टी उखु (दोस्रो वर्षको बाली)काटेर गहुँ र अन्य हिउँदे बाली लगाउने समय घर्कँदै छ । यसै बेला वैशाखी मौसमी तरकारी रोप्ने र तयार तरकारी पालोमा टिपेर बजार पुर्याउने धपेडी छ । एकपछि अर्को कामले पुसको जाडो भन्न नपाइएको किसान बताउँछन् ।
पर्वमा चिउरा, मुरी र तिलका ‘लाई’ (लडडु) बनाउन चाहिने सख्खरको जोहोका लागि कतिपय किसान आफैँ धमाधम उखु पेलेर सख्खर पकाउन थालेका छन् । आफ्नो घरको पर्व सामग्रीको जोहो पनि हुने र यी सामग्रीले अहिले राम्रो भाउ पाउने भएपछि किसान जाडो नभनी काममा जुटेका हुन् । तिलासक्रायत पर्व किसानका लागि आर्जनको अवसर पनि भएको हुँदा यस पर्वका आवश्यक उत्पादित फसलले राम्रो भाउ पाउँछन् । पर्वमा तिला, सख्खर, सखरखण्ड (सुठुनी) , तरूल, मास, पिडालुसहितका उत्पादित फसल प्रयोगमा आउनेहुँदा यस्ता फसल लगाएका किसान यी बस्तु बेचेर रकम आर्जनको ताकमा छन् ।
पर्व लक्षित सख्खर बनाउने र तिला चुट्ने निफन्ने कामले छोपे पनि सखरखण्ड, पिडालु र तरूलसहितका कन्दमूल खन्ने र बजार लाने कामभने पुस २५ पछि नै गरिने किसान बताउँछन् । जति जाडो छिप्पिदै जान्छ त्यति कामले थिच्दै जानेहुँदा किसानले लगलगी मुटु कमाउने जाडोमा पनि आराम नपाउने भङ्गाहा–४ पलारका ८० वर्षीय चौठी बाँतर बताउनुहुन्छ । हिउँदे बाली समेट्ने र लगाउने दुबै ताकको बेला परेको हुँदा अहिले कामैकामको चटारोभित्र आफूहरू रहेको बाँतरको भनाइ छ ।
“चिसो सिरेटो बहेको बह्यै छ, बिहान हुस्सुले डम्म ढाक्छ, जाडो त छ नि ! तर खेतीपातीका कामले समय थामी दिँदैन, बर्दिबास–७ मनहरिपुरका ७० वर्षीय किसान विन्देश्वर यादव भन्नुहुन्छ, “अहिले जाडो मानेर काममा नगए जहान परिवारको मुखमा माड लाग्दैन ।” अहिले उखु पेलेर मिठ्ठा (सख्खर) बनाउन ठूलो भठ्ठी चुलोमा खुदो उमाली रहनुभएका यादवले उखु फसलबाट वर्षभरिको खाने अन्नको जोहो गर्नुपर्दा अहिले मिठ्ठाले राम्रो भाउ पाउने बेला जाडो नभनी काममा लाग्नु परेको बताउनुभयो ।
“वर्षभरि केही महिनाको अन्तरमा फरकफरक मौसम हुन्छन्, कहिले जाडो, कहिले गर्मी र कहिले वर्षा, सबै मौसममा खेतीका आआफ्ना तुक ९समय० हुन्छन्”, बर्दिबास–६ प्रेमनगरका ७५ वर्षीय किसान रामउद्गार महतो भन्नुहुन्छ, “किसानका लागि कुनै मौसम आरामका हुँदैनन्, मौसमअनुसारका खेतीमा राम्रो उत्पादन लिनु हाम्रो सफलता हुन्छ ।” त्यसैले मध्य पुसताकाको लगलगी मुटु कमाउने जाडोमा पनि किसान खेतीका कामको तुकमै जोतिनुपरेको महतो बताउनुहुन्छ ।























