डा ओम मूर्तिद्वारा सामाजिक सञ्जालको आम्दानी सामाजिक कार्यमै खर्च

काठमाडौँ, पुस १३ । मुटुरोग विशेषज्ञ, लेखक तथा स्वास्थ्य अभियान्ता डा ओम मूर्ति अनिलले सामाजिक सञ्जालबाट भएको आम्दानी सामाजिक कार्यमै खर्च गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल युट्युबबाट आएको आम्दानी अनाथ र असाहय बालबालिका तथा वृद्धवृद्धाका निम्ति खर्च गर्नुभएको हो ।
स्वास्थ्य सेवाबाहेक एक दशकभन्दा लामो समयदेखि स्वास्थ्य र समसामयिक विषयमा जनचेतना जगाउँदै आउनुभएका डा अनिलको फेसबुक पेजमा १४ लाखभन्दा बढी र युट््युबमा ८० हजारभन्दा बढी फलोअर्स रहेका छन् । डा ओम मूर्ति अनिलले स्वास्थ्य सचेतनामा दुई वटा विश्व कीर्तिमानसमेत कायम गर्नुभएको छ । जसअन्तर्गत गिनिज वल्र्ड रेकर्ड र वल्र्ड बुक रेकर्ड (लन्डन) रहेका छन् । विश्व मुटु दिवसको अवसरमा मुटुको स्वास्थ्यबारे जनचेतना फैलाउने उद्देश्यले २९ सेप्टेम्बर २०२३ मा डा उहाँले फेसबुक लाइभमार्फत ११ हजार दुई सय १२ जना प्रत्यक्ष दर्शकसँग ‘मुटुरोगको स्वास्थ्य जागरूकता लाइभ स्ट्रिम’को लागि सबैभन्दा धेरै दर्शकको विश्व रेकर्ड कायम गर्नु भएको हो ।
त्यस्तै सन् २०१४ मा डा अनिललाई ‘मुटुरोग रोकथाममा अतिथि वक्ताको रूपमा सबैभन्दा लामो समयको रेडियो अन्तर्वार्ता’का लागि प्रदान गरिएको थियो । इमेज एफएममा ४४ हप्तासम्म लगातार प्रसारण गरिएको अन्तर्वार्ताको शृङ्खलालाई वल्र्ड बुक रेकर्ड (लन्डन) ले मान्यता प्रदान गरेको थियो ।























