सडकमा रोकेको गाडी आफैँ गुडेर दुर्घटना, एकको मृत्यु

रासस
२०८१ पुस ११ | बिहान ११:०९ बजे

खोटाङ, पुस ११ । सुमो दुर्घटनामा गम्भीर घाइते भएका खोटाङको केपिलासगढी गाउँपालिका-१ फेदीका ७२ वर्षीय दुर्गाप्रसाद राईको उपचारका क्रममा मृत्यु भएको छ।
काठमाडौँबाट यात्रु लिई फर्किंदै गरेको ना१ज ७१८१ नंको सुमो केपिलासगढी गाउँपालिका-३ बास्पानीस्थित राँटीमा दुर्घटना हुँदा गम्भीर घाइते भएका राईको जिल्ला अस्पताल खोटाङमा मृत्यु भएको हो।
सडकमै रोकेर राखेको सुमो आफैँ गुडेर दुर्घटना भएपछि फरार भएका सुमो चालक ऐँसेलुखर्क गाउँपालिका-१ राखाबाङ्देल निवासी ३६ वर्षीय शत्रुधन राई प्रहरी चौकी खार्मीको सम्पर्कमा पुगेका थिए।
प्रहरीको सहारामा जिल्ला प्रहरी कार्यालय आइपुगेका चालक राईलाई जिल्ला अस्पताल खोटाङ लगेर स्वास्थ्य परीक्षण गरेपछि हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।























