देश

सर्वोच्चबाट संविधान र लोकतन्त्रको रक्षा गर्ने काम भएको छ : माधव नेपाल

जगत ठाडा मगर
२०७८ असार २८ | मध्यान्ह ०३:०३ बजे

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतबाट दोस्रो पटक विघटित प्रतिनिधिसभा पुनर्स्थापित भएकोमा सर्वोच्च अदालतलाई धन्यवाद व्यक्त गरेका छन् । सर्वोच्चले नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ७ गते विघटन गरेको संसद सोमबार ब्यूँताउने निर्णय गरेको थियो।

त्यसलगत्तै उनले भने,‘ म अदालतलाई धन्यवाद दिन चाहन्छु । सर्वोच्चबाट संविधान र लोकतन्त्रको रक्षा गर्ने काम भएको छ। यो सँगै उनले सर्वोच्चले आफ्नो फैसलामा संविधानको राम्रो व्याख्या गरेको छ भन्नेमा आफू विश्वस्त रहेको बताए ।

उनले भने, ‘सर्वोच्चबाट संविधानमा भएका कतिपय अस्पष्टताबारे पनि स्पष्ट पार्ने काम भएको छ भन्ने मलाई लागेको छ।’ यो फैसलाका कारण सर्वोच्चको गरिमा र मर्यादा माथि उठेको उनले बताए। साथै अब सबै नेपालीले कानुनी राज्यको अनुभुति गर्ने मौका पाएको उनको भनाई छ।

पार्टी विवादका सम्बन्धमा भने अहिले बोल्ने बेला नभएको भन्दै उनले टारे।

कमेन्टहरु