ऋषिङ गाउँपालिका वासी ६ दिनदेखि अन्धकारमा


तनहुँ । बाढी पहिरोका कारण विधुत लाइन नहुदा ऋषिङ गाउँपालिका वासी ६ दिनदेखि अन्धकारमा बस्न बाध्य भएका छन्।
यही असार २३ गते रातिदेखि परेको अविरल वर्षाका कारण ठाउँ ठाउँमा विद्युत् खम्बा ढलेपछि विद्युत, खानेपानी र सडक अवरुद्ध हुँदा जनजीवन निकै प्रभावित भएको छ । बाढी पहिरोले वडा नं ४, ५ र ८ मा बढी क्षति भएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए ।
विद्युत् लाइन नहुँदा मोबाइल चार्ज गर्न नपाउँदा सम्पर्क विच्छेद भएको छ । स्थानीयवासी एक वडाबाट अर्को वडामा आवत जावत गर्न समस्या भएको छ भने झापुटार–काँहुशिवपुर चालिसे मार्गको ठाउँ ठाउँमा पहिरा खसेर सडक अवरुद्ध हुँदा राजमार्गसँग विच्छेद बनेको उनले बताए ।
खानेपानीको पाइप पहिराले बगाउँदा स्थानीयवासी टाढाबाट कुवा र धाराको पानी बोकेर खानुपर्ने अवस्था छ । उक्त गाउँमा पहिरोबाट ऋषिङ–७ डढीवनमा पहिराले पुरेर ५० वर्षीया देवीसरा थापा र ऋषिङ–८ माझकोटका ३८ वर्षीय सुरक्षा गार्ड खुमबहादुर आलेको मृत्यु भएको थियो ।
ऋषिङगाउँपालिका–८ अजम्बरी मन्दिर क्षेत्रमा रहेका पुराना संरचना पहिराले बगाएर सबै नष्ट भएको छ । निर्माण गरिएको नयाँ मन्दिरबाहेक पुराना कुवा तथा मन्दिर पहिराले पूर्ण क्षति भएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए ।
गाउँपालिकाभित्र १८ घरपरिवार विस्थापित भएपनि खाद्यान्न बाली के कति क्षति भयो त्यसको तथ्याङ्क लिने कार्य भइरहेको उनले बताए। तत्कालै अवरुद्ध सडक खुलाउन नसक्ने अवस्था भएकाले तत्कालका लागि आवतजावत गर्न बाटो खुलाउन पहल भइरहेको उनले बताए ।
गाउँपालिकाले अवरुद्ध सडक खुलाउन चाहे पनि पानी परिरहेकाले पहिराे हटाउन तथा पीडित परिवारलाई राहत वितरण गर्न सक्ने अबस्था नरहेको गाउँपालिकाले जनाएको छ । अहिले बढी मूल्यमा खाद्यान्न लगायतका वस्तु खरीद गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।






















