देश

लुम्बिनी प्रदेशसभाको बैठक, बजेटमाथि छलफल सुरु

जगत ठाडा मगर
२०७८ असार २७ | मध्यान्ह ०६:०३ बजे

रुपन्देही । विपक्षीहरूको अवरोधका कारण लामो समयदेखी स्थगित लुम्बिनी प्रदेश सभाको आजको बैठकमा भने बजेटमाथि छलफल शुरु भएको छ ।

यससँगै लुम्बिनी प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले विनियोजन विधेयक टेबुल गरेका छन् । यसअघि विपक्षी दलहरूले सदन अवरोध गर्ने बताए पनि बैठकको शुरुमा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले आफ्नो भनाइ राख्दै सदन चल्न दिएका थिए ।

केसीले सदन अवरोध गर्नु बाध्यता भएको बताउँदै अहिले पनि सरकार अल्पमत परेको जिकिर गरेका थिए । केसीको भनाइपछि सदन नियमित कारबाहीमा प्रवेश गरेको थियो । प्रतिपक्षी दलले असार ६ गते अवरोध गरेपछि असार ९ सम्म बैठक स्थगित भएको थियो । गत असार ९ मा सूचना प्रकाशित गरी बैठक स्थगित भएको थियो ।

आजको बैठकमा विनियोजन विधेयक प्रस्तुत गरेका अर्थमन्त्री चौधरीले सरकारले सबै पक्षलाई समेट्ने गरी बजेट ल्याएको दावी गरेका थिए । उनले प्रदेश सभाका सदस्यहरुको सहयोग मै बजेट पास गर्नुपर्ने बताए ।

संसदमा बहुमत पुर्याउन दवाव दिँदै आएको विपक्षी गठबन्धन र सरकार राजनीतिक रुपमा संसदमा अल्पमतमा नरहेको कानूनी आधार देखाउँदै आएको सत्तारुढ नेकपा एमालेको अडानले लुम्बिनी प्रदेशको राजनीति थप पेचिलो बन्न पुगेको छ ।

कमेन्टहरु