क्षेत्रीय शान्तिका लागि दक्षिण कोरियासँग गठबन्धन : बाइडेन

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले दक्षिण कोरियाली प्रधानमन्त्री हान डक सोसँग शनिबार टेलिफोन वार्ता गरेका छन् । साे क्रममा उनले दक्षिण कोरियासँगको अमेरिकी सम्बन्ध मजबुत रहेको र यो क्षेत्रीय शान्तिका लागि महत्त्वपूर्ण रहेको बताए ।
दक्षिण कोरियाली नेता युन सुक योलविरुद्ध महाभियोग लगाई पदच्युत गरिएपछि कार्यवाहक राष्ट्रपति बनेका प्रधानमन्त्री हानसँग समसामयिक विषयमा भएको कुराकानीका क्रममा उनले दक्षिण कोरिया र अमेरिकाबीच सम्बन्ध मजबुत रहेको र यो आगामी दिनमा अझ प्रगाढ रहने बताएका हुन् ।
ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपति बाइडनले कार्यवाहक राष्ट्रपति हानको कार्यकालमा हिन्द–प्रशान्त क्षेत्रमा शान्ति र समृद्धिका लागि गठबन्धन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।’
“राष्ट्रपति बाइडेनले गणतन्त्र कोरियामा लोकतन्त्र र विधिको शासनको लचिलोपनको लागि आफ्नो प्रशंसा व्यक्त गर्नुभयो र गणतन्त्र कोरियाका जनताप्रति संयुक्त राज्य अमेरिकाको कसिलो सहयोगको प्रतिबद्धतालाई दोहोर्याए ।
एक संवैधानिक अदालतले युनलाई स्थायी रूपमा पदबाट हटाउने कि नहटाउने भन्ने विषयमा छलफल गरिरहेका बेला टेक्नोक्रेट हानले अन्तरिम नेताको रूपमा सत्ताको वागडोर सम्हाल्नेछन् ।
अदालतलाई युनको भविष्यबारे फैसला गर्न १८० दिनको समय दिइएको छ । यदि उनलाई पदबाट हटाइयो भने युन दक्षिण कोरियाको इतिहासमा सफलतापूर्वक महाभियोग लगाइने दोस्रो राष्ट्रपति बन्नेछन् ।























