लुम्बिनीविरूद्ध पोखरा एभेन्चर्सको कीर्तिमानी जित


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्चर्सले पहिलो जित हात पारेको छ । लिगको आफ्नो तेस्रो खेलमा पोखराले शुक्रबार लुम्बिनी लायन्सलाई १० विकेटको फराकिलो अन्तरमा हराएको हो । लुम्बिनीको भने यो लगातार दोस्रो हार हो ।
लुम्बिनीले दिएको १७१ रनको लक्ष्य पोखराले १६.५ ओभरमा बिना क्षति भेट्टायो । उसको जितमा एन्ड्रयू हउसले उल्लेख्य पारी खेले । ओपनर एन्ड्रयूले एनपीएलकै पहिलो सतक बनाए । उनले ५४ बलमा आफ्नो सतक पूरा गरेका हुन्। उनले ५ छक्का र १२ चौका प्रहार गरे । उनी १०४ रनमा नटआउट रहे ।
दिनेश खरेलले ६१ रन जोडे । ४६ बलको सामना गरेका उनले चार चौका र चार छक्का प्रहार गरे । यसअघि पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ओभरमा ५ विकेट गुमाएर १७० रन बनाएको थियो । उसका लागि क्याप्टेन रोहित पौडेलले कप्तानी पारी खेले । ओपनरद्वय आषुतोश घुरैया र उन्मुक्त चन्द शुन्य रनमा आउट भएपछि धरमराएको लुम्बिनीको इनिङ्स रोहितले सम्हालेका हुन् ।
५९ बलको सामना गर्दै ४ छक्का र १० चौका प्रहार गरेका रोहितले ९५ रन बनाए । लुम्बिनीको ४६ रनमा ३ विकेट गुमाएको स्थिति सम्हाल्दै रोहितले टम मुर्ससँग चौथो विकेटका लागि ११० रनको साझेदारी गरे । मुर्स ४५ रनमा आउट भए । सन्दीप जोराले १८ रन बनाए । विपिन खत्रीले २ र म्याट क्रिच्लीले एक विकेट झारेका थिए ।























