प्रधानमन्त्री ओली बाढी–पहिरोले क्षतिग्रस्त हेलम्बु क्षेत्रमा

जगत ठाडा मगर
२०७८ असार २६ | मध्यान्ह ०१:०३ बजे

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोकका हेलम्बु र मेलम्चीको बाढी–पहिरोले क्षतिग्रस्त क्षेत्रमा अवलोकनका लागि आएका छन् ।
प्रधानमन्त्री ओली अहिले हेलिकप्टरबाट ओर्लिएर हेलम्बु क्षेत्रमा रहेका छन् भने यसपछि मेलम्ची क्षेत्रमा पुग्नेछन् । प्रधानमन्त्री ओलीले मेलम्ची घ्याङमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीसँग छलफलपछि गणेश बगर जाँदैछन् ।
उनले मेलम्ची आयोजनाको मुख्य सुरुङको हवाइ निरीक्षण पनि गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलगायत रहेका छन् ।
मनसुन शुरु भएसँगै यही असार १ गतेको अविरल वर्षाका कारण सो क्षेत्रमा बाढी पहिरोबाट जनधनको क्षति भएको थियो ।























