देश

मोरङमा आफ्नै दाइको हत्याको अभियोगमामा एक युवक पक्राउ

जगत ठाडा मगर
२०७८ असार २६ | मध्यान्ह १२:०३ बजे

काठमाडौं । प्रहरीले मोरङमा एक युवकलाई आफ्नै दाइको हत्या गरेको आरोपमा पक्राउ गरेको छ । विराटनगर महानगरपालिका-५ पृथ्वी चोकका साजन सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।

साजनले शुक्रबार राति आफ्नै दाजुको हत्या गरेको र राति नै उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

घरायसी विवादका कारण शुक्रबार राति करिब साढे १० बजे साजनले आफ्नै दाइ ४२ वर्षीय भोलालाई चक्कु प्रहार गरेका थिए । चक्कुले भोलाको शरीरको विभिन्न ठाउँमा गहिरो चोट लागेको थियो ।

भाइको कुटपिटबाट गम्भीर घाइते भएका भोलाको उपचारका क्रममा विराट अस्पतालमा राति ११ बजे नै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसकै केही समयपछि राति साढे ११ बजे नै प्रहरीले साजनलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ परेका साजनविरुद्ध कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान शुरु गरिएको छ ।

कमेन्टहरु