स्थानीय तह उपनिर्वाचन : सकियो मतदान, ६२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान


काठमाडौं । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आज भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै निर्वाचनस्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिइन् ।
आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेका अनुसार ६२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ । अधिकांश ठाउँमा मतदान सकिएको जानकारी आएको र जानकारी आउन बाँकी रहेको ठाउँमा पनि मतदान जारी रहेको सूचना नरहेको उनले बताएका छन् ।
उनले भने, ‘निर्धारित समय अगावै मतदान सकिएको बुझिएको छ । लाइनमा रहेका कारणले मतदान जारी रहेको भन्ने सूचना छैन ।’ नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ सहित ४१ पदका लागि आज मतदान भएको थियो । यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्रगरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धी छन् ।























