नेपालीलाई मलेसियामा अर्को वर्षदेखि रोजगारी खुल्ने सम्भावना


काठमाडौं । बढ्दो कोरोन संक्रमणका कारण नेपालीहरु रोजगारीका लागि तत्काल मलेसिया जान नपाउने भएका छन् । नेपालीको सबभन्दा ठूलो गन्तव्य मुलुक मलेसियामा यो वर्ष रोजगारीका लागि अवसर नहुने भएको हो।
मलेसियास्थित नेपाली राजदूतावासका श्रम काउन्सेलर दीपक ढकालका अनुसार बढ्दो कोरोना महामारीको अवस्था र खोपको अपर्याप्तताका कारण यस्तो भएको हो। उनका अनुसार सन् २०२२ पछि मात्र नेपालीहरू रोजगारीका लागि मलेसिया जान पाउने सम्भावना देखिएको छ ।
आउँदो डिसेम्बरसम्म मलेसियाले नेपाली लगायत विदेशी कामदार नभित्र्याउने भएको छ। कोरियामा गत वर्षको मार्चदेखि लकडाउन सुरु गरिएको थियो। त्यहाँ अझै पनि कोरोनाको प्रकोप कायमै छ। महामारीका कारण मलेसियाको अवस्था उति राम्रो छैन। कोरोनाविरुद्ध दुई डोज खोप लगाउनेको संख्या त्यहाँ कम छ।
डिसेम्बरपछि अवस्थामा केही सुधार हुन्छ कि भन्ने अपेक्षा रहेको उल्लेख गर्दै ढकालले त्यसपछि वा अर्को वर्षदेखि भने रोजगारीका लागि खुला हुन सक्ने सम्भावना रहेको बताए। मलेसिया रोजगारी बन्द भएको करिब डेढ वर्ष भइसकेको छ।
वैदेशिक रोजगार विभागले मलेसिया लगायत वैदेशिक रोजगारीमा जान चाहनेका लागि केही दिनअघि श्रम स्वीकृति दिन थाले पनि रोजगारदाताले कामदारको माग नगर्दा श्रम स्वीकृति लिनेको संख्या बढ्न सकेको छैन।























