निर्वाचन

स्थानीय तह उपनिर्वाचन कहाँ-कहाँ हुँदैछ मतदान ?

नवलपुर टुडे
२०८१ मंसिर १६ | बिहान ०७:०८ बजे

काठमाडौँ ।  स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि केही बेरपछि मतदान सुरु हुँदैछ । निर्वाचन हुने सम्बन्धित स्थानीय तहमा स्थापना गरिएका मतदान केन्द्रमा अहिले बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

कीर्तिपुर नगरपालिकाको प्रमुख र जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख, मोरङको ग्रामथान र दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष, दोलखाको गौरिशङ्कर, रुकुम (पूर्वी भाग) पुथा उत्तरगङ्गा, हुम्लाको सर्केगाड र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि मतदान हुँदैछ ।

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३, झापाको कन्काई नगरपालिका वडा नं ६, तेह्रथुमको लालिगुराँस नगरपालिका वडा नं ८, सुनसरीको गढी गाउँपालिका वडा नं ६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नं ५, उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ र बेलका नगरपालिका वडा नं ९, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ र ४, धनुषाको धनुषाधाम नगरपालिका वडा नं १, महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं २, रौतहतको ईशनाथ नगरपालिका वडा नं ७, रौतहटका राजपुर नगरपालिका वडा नं ६ र गढीमाई नगरपालिका वडा नं ८ मा मतदान हुनेछ ।

काठमाडौँको काठमाडौँ महानगरपालिका वडा नं १६, कीर्तिपुर नगरपालिका वडा नं १ र ४, नुवाकोटको ककनी गाउँपालिका वडा नं २, मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं १२, गोरखाको गोरखा नगरपालिका वडा नं ५, गुल्मीको मुसिकोट नगरपालिका वडा नं १, कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं १, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ४ र रुकुम (पश्चिम भाग)को सानीभेरी गाउँपालिका वडा नं ५ वडाध्यक्ष पदका लागि मतदान हुँदैछ ।

दैलेखको दुल्लु नगरपालिका वडा नं १३, जाजरकोटको कुसे गाउँपालिका वडा नं ७, कालीकोटको तिलागुफा नगरपालिका वडा नं ४, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५, बझाङको सूर्मा गाउँपालिका वडा नं ४, डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं ६, दार्चुलाको दुहुँ गाउँपालिका वडा नं ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ मा मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन् ।

यसअघि जिल्ला समन्वय समिति ओलखढुङ्गा र कैलालीका प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी (भूल) तथा रुकुम (पूर्वी भाग) पुगा उत्तरगङ्गा गाउँपालिका वडा नं २ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् । उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता भएको थियो ।

कमेन्टहरु