सिरहाको डोटेल माध्यामिक विद्यालयमा नियम विपरीत निमित्त प्रधानाध्यापक नियुक्त, स्थानीय आक्रोश


सिरहा । सिरहाको एक विद्यालयमा कानुन मिचेर निमित्त प्रधानाध्यापक नियुक्ति गरिएको छ । जिल्लाको धनगढीमाई- १२ स्थित रहेको श्री तुलसी राम सत्य भामा माध्यामिक विद्यालयमा कानुन मिचेर निमित्त प्रधानाध्यापक नियुक्ति गर्दा विवादमा तानिएको हो । विद्यालयले नियम र कानुन मिचेर जयराम कार्कीलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी सुम्पिएको भन्दै सरोकार वाला निकाय र स्थानीयबासीले आक्रोश व्यक्त गरेका छन् ।
दुवै मृगौला पीडित कार्कीलाई स्वर्गीय प्रधानाध्यापक बलराम भक्त श्रेष्ठको निधन पछि कार्कीलाई दिएको जिम्मेवारी कानुन अनुसार नभएको स्थानीयको दाबी छन् । सो विद्यालयमा जयराम कार्की भन्दा वरिष्ठ र योग्य शिक्षकहरू किशोर शाह, चन्द्र नारायण चौधरी, र निलु कुमारी झा हुँदा-हुँदै पनि उनलाई निमित्त प्रधानाध्यापक बनाइनुले कानुनी प्रक्रिया उल्लङ्घन मात्र नभई विद्यालयलाई विवादमा तान्न खोजिएको आरोप छ ।
विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मेख बहादुर मगर राजनीतिक दबाबमा परेर स्थायी प्रधानाध्यापक नियुक्त गर्न असफल भएको बताइएको छ । व्यवस्थापन समितिको निर्णय नआउँदा विद्यालयको पठनपाठनमा कमजोर स्थिति शृजना भएको छ । धनगढीमाई नगरपालिका र वडा अध्यक्ष जय प्रकाश शर्माले विवाद समाधान गर्न कुनै कदम नचालेको स्थानीयको गुनासो छ । कार्कीले नगरका नेताहरूलाई प्रभावमा पार्दै पदमा रहिरहन सक्रियता देखाएको आरोपसमेत स्थानीयको छ ।
विद्यालयको शैक्षिक वातावरण खस्कँदै गइरहेको र द्वन्द्वको सम्भावना उच्च भएकाले सम्बद्ध निकायले तत्काल कदम चाल्नुपर्ने स्थानीयवासीको माग छ । प्रधानाध्यापक नियुक्ति प्रक्रिया कानुनी ढंगले अघि बढेन भने विद्यालय थप समस्यामा फस्ने निश्चित देखिन्छ । श्री तुलसी राम सत्य भामा माध्यामिक विद्यालयको विवादले कानुनी र व्यवस्थापकीय कमजोरीको स्पष्ट चित्रण गरेको छ । समस्या समाधानका लागि जिम्मेवार निकायले तत्काल चासो देखाउन आवश्यक छ ।























