संस्कृति प्रवर्द्धनमा जुट्दै मगर समुदायका महिला
दिप्शन गुरुङ
२०८१ मंसिर १५ | बिहान ०७:०८ बजे

गोरखा । गोरखा नगरपालिका–८, आमडाँडास्थित कुनबारीका मगर समुदायका महिला आफ्नो समुदायको संस्कृति र परम्पराका संरक्षणमा जुटेका छन् । मगर समुदायको वेशभूषा, संस्कृति र परम्परा जोगाउनका उनीहरू समूहमार्फत पहल सुरु गरेको आमाडाँडा महिला समूहकी अध्यक्ष बेली थापामगरले जानकारी दिइन् ।
गोरखा सामुदायिक सिकाइ केन्द्रले मगर समुदायका महिलालाई संस्कृतिका संरक्षणमा सहयोग पुर्याउन मादल, झुर्मालगायतका परम्परागत वाद्य सामग्री सहयोग गर्दै आएको छ । “पछिल्लो समय जातजातिका आफ्ना मौलिक संस्कृतिको संरक्षण हुनै सकेको छैन, नत संस्कृतिको पुस्तान्तरण नै हुने गरेको छ”, केन्द्रका अध्यक्ष विश्वेश्वर कट्टेलले भने, “संस्कृतिको पुस्तान्तरण र पुस्ता हस्तान्तरणको दूरी कम गर्न सिकाइ केन्द्रमार्फत महिलाले काम गर्न थालेका छन् ।”
समूहले मगर जातिका युवायुवतीलाई आफ्नो संस्कार र संस्कृतिको बारेमा जानकारी दिन सके मात्र मौलिक संस्कृति र परम्पराको पुस्ता हस्तान्तरण गर्न सकिने उनको भनाइ छ । आमडाँडाका मगर समुदायका महिलाले संस्कृति जर्गेनासँगै स्थानीय रैथाने जातको बालीनाली संरक्षण र प्रवर्द्धनमा काम गर्दै आएका छन् ।


















