परराष्ट्रमन्त्री आरजु राणा र चिनियाँ समकक्षी वाङ यीबीच भेटवार्ता


काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच शुक्रबार चीनको छेन्दु सहरमा भेटवार्ता भएको छ । भेटमा नेपाल–चीन सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबारे छलफल भएको छ ।
भ्रमणको क्रममा हुने दुई देशबीचको सहयोग आदानप्रदानका विषयमा पनि कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
चिनियाँ विदेशमन्त्री वाङको निमन्त्रणामा चीन गएकी परराष्ट्रमन्त्री राणाले वाङलाई नेपाल भ्रमणको पनि निम्तो दिएकी छन् । वार्ताका क्रममा चीनको ७५ औं स्थापना दिवस र आगामी वर्ष नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सवका अवसरमा चीन सरकार र चिनियाँ नागरिकलाई मन्त्री राणाले बधाई दिइन् ।
उनले पछिल्लो समय नेपाल–चीन सम्बन्धमा उल्लेखनीय उपलब्धिहरू हासिल भएको र यसले सम्बन्ध थप बलियो बन्दै गएको उल्लेख गरिन् । चीन भ्रमण गर्ने नेपाली नागरिकलाई हालै भिसा शुल्क नलाग्ने घोषणा गरेकोमा उनले चीन सरकारलाई धन्यवाद दिइन् ।
राणाले नेपाल–चीनबीचका सबै परम्परागत सीमा नाका पुनः नियमित रूपमा सञ्चालनमा आइसकेका र त्यहाँ दुवै देशका नागरिक, सामान र सेवाहरूको सीमापार आवागमन निर्बाध बनेकाले यसलाई थप सहज एवं प्रभावकारी बनाउन दुवै पक्षबाट महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको बताइन् ।
पछिल्लो समयमा नेपाल र चीनबीच उच्चस्तरीय भ्रमणहरूको आदानप्रदान भइरहेको र यी भ्रमणले दुई देशबीच निकट तथा मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ बनाउँदै नयाँ गति प्रदान गर्दै लैजाने उनले विश्वास व्यक्त गरिन् ।
वार्ताका क्रममा प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणको क्रममा समझदारी एवं सम्झौता हुने विभिन्न आयोजना एवं सहयोग आदान–प्रदानबारे पनि छलफल भएको छ । भेटवार्तामा मन्त्री राणाको नेतृत्वमा चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओली, नियोग उपप्रमुख सुरेन्द्र यादव, छेन्दुस्थित नेपाली महावाणिज्यदूत र परराष्ट्र मन्त्रालयका अधिकारीहरू सहभागी भए ।
चिनियाँ विदेशमन्त्री वाङले मन्त्री राणा र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोजसमेत आयोजना गरेका थिए । राणा शनिबार नेपाल फर्कने कार्यक्रम छ । सोमबार प्रधानमन्त्री ओलीसँगै चारदिने भ्रमणमा फेरि बेइजिङ जाने छिन् ।























