समाज

संसदीय समितिद्वारा राजविराजस्थित कारागार र थुनुवा कक्षको निरीक्षण

नवलपुर टुडे
२०८१ मंसिर १३ | बिहान ०६:०८ बजे

राजविराज (सप्तरी) । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार संसदीय समितिको टोलीले बुधबार राजविराजस्थित कारागार तथा प्रहरीको थुनुवा कक्षको निरीक्षण गरेको छ । समितिका सभापति विमला सुवेदी तथा सदस्य रन्जु ठाकुर, पुष्पबहादुर शाह, शेरबहादुर कुवँर, नविना यादव र प्रतिक्षा तिवारी सम्मिलित टोलीले राजविराज कारागार तथा जिल्ला प्रहरी कार्यालय सप्तरीस्थित थुनुवा कक्षको निरीक्षण गर्दै आवश्यक जानकारी लिएको हो ।

त्यस क्रममा थुनुवा कक्ष तथा कारागारमा रहेका कैदी/बन्दीसँग समस्याबारे साक्षात्कार गर्नुका साथै समाधान र सुधारका लागि गरिनुपर्ने कार्यबारे सुरक्षा निकायका प्रमुख तथा सञ्चारकर्मीसँग टोलीले सुझावसमेत लिएको थियो । यसबारे जिल्ला प्रहरी कार्यालय सप्तरीमा आयोजित छलफलमा प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले थुनुवाको अवस्था तथा विद्यमान समस्याकाबारे संसदीय टोलीलाई जानकारी गराए ।

सप्तरी कारागारका समस्या र थुनुवाको अवस्थाका बारेमा पनि जानकारी गराइएको थियो ।

टोलीकी सदस्य सांसद रञ्जुकुमारी ठाकुरले हिरासतमा रहेका बन्दीको अवस्था, समस्या, अधिकार, कारागार र थुनुवाकक्ष भवन संरचनाको अवस्थालगायत विषयमा टोलीले अध्ययन गरी समाधानका उपायसहित सरकारलाई प्रतिवेदन बुझाउने बताइन् । उनले विगतका कानुनमा देखिएका त्रुटि सुधार र अब आवश्यक पर्ने विषय समेटेर परिर्माजनका लागिसमेत सुझाव तथा निर्देशन दिइने बताइन्।

कमेन्टहरु