पहाडी जिल्लाका गाउँबस्तीका परम्परागत खाजा र खानाका परिकार शहरका उपभोक्तालाई पस्किँदै मगर्स किचन


बुटवल । शहरीकरण र आधुनिकताले ढाकेको बुटवलको मिलनचोक तीनकुने नजिकै विल्कुलै फरक परिवेशको एउटा घर छ । ढुंगाले छाएको, काठैकाठको बार्दली, घरको आँगन अगाडि बाँसको तगारो, तगारो छेउमा ढुंगेधारा र मकैको शुली रहेको चिटिक्क परेको २ तले घर रहेको छ।
घरको भुइँतलामा एउटा कुनामा ढिकी र अर्कोतिर जाँतो । कौसीमा मौरीको घार, मकैका झुत्ता र पाकेको फर्सी लहरै मिलाएर झुण्डाइएको । घरभित्र छिर्ने बित्तिकै मदुस, भुइँमा गुन्द्रीमाथि काम्लो (राडी) । भित्तामा मादल, डम्फु, भरुवा बन्दुक, धनुकाँड, डोको, फुर्लुङ र चाल्नोले सजाइएको छ ।
तर यो घर मात्र होइन, यो पहाडी जिल्लाका गाउँबस्तीका परम्परागत खाजा र खानाका परिकार शहरका उपभोक्तालाई पस्कने रेष्टुरेन्ट अर्थात् ‘मगर्स किचन’ हो ।

चार वर्ष कोरियामा रोजगारी गरेर फर्केका मगर फिल्मका निर्देशक, कलाकार र लेखक समेत रहेका ४५ वर्षीय सञ्जय काउछा मगरले मगर्स किचनको शुरुवात गरेका हुन् ।
करिब ५० लाख रुपैयाँ लगानी गरिएको मगर्स किचेनमा भुटेका मकै, भटमास, कोदो र फापरको रोटी, ढिंडो, कोदो र फापरकै मःमः, सेलरोटी, बटुक, पिडाँलु, तरुल, चुकाउनी, स्थानीय जातका कुखुराको मासु आदि अर्गानिक खाजा र खानाका परिकार उपलब्ध हुने सञ्चालक काउछाले बताए ।
‘पहाडी जिल्लाका गाउँघरमा आम नेपालीले खाने परम्परागत नेपाली र मगरका परिकार, त्यहींकै संस्कार, संस्कृति र जीवनशैली पस्कने प्रयास गरेका छौं,’ सञ्चालक काउछाले भने, ‘आयातीत संस्कार र परिकारको साटो परम्परागत अर्गानिक खाजा र खानाका परिकार प्रबर्द्धन गर्दै नेपाली संस्कृतिलाई जोगाइराख्ने मुख्य उद्देश्य हो ।’
कोदो, फापर, सिस्नो, मकै भटमास लगायतका वस्तु गुल्मी, बागलुङ र पाल्पाका ग्रामीण भेगबाटै किनेर ल्याउने गरेको उनले बताए । मगर्स किचनमा तयारी मसलाको सट्टा सिलौटामा पिसेको मसला मात्रै प्रयोग हुन्छ । कोरोना महामारीका कारण भएको लकडाउनले औपचारिक उद्घाटन हुन नपाए पनि मगर्स किचन छोटो समयमै खासगरी शहरीया उपभोक्ताको रोजाइको थलो बनेको सञ्चालक काउछा बताउँछन् ।
‘पाको पुस्ताभन्दा युवा पुस्ताको आकर्षण धेरै छ, शहरमै जन्मे हुर्केको पुस्ता आफ्नो पुर्ख्याउलि थातथलोको झल्को मेट्न यहाँ आउँछन्,’ काउछाले भने, ‘लोपोन्मुख सामग्रीहरु संग्रह गरेर यसलाई मिनी संग्रहालयको रुपमा विकास गर्ने लक्ष्य छ ।’
उपभोक्तालाई आफ्नै बारीमा उत्पादन भएका खाद्य पदार्थ खुवाउने लक्ष्यसहित मगर्स किचनले सैनामैना नगरपालिकाको सालझण्डीमा दुई बिघा खेत लिजमा लिएर तरकारी उत्पादनदेखि लोकल कुखुरा पाल्ने, होमस्टे सञ्चालन गर्ने र हरेक शुक्रबार रोधी सञ्चालन गर्ने योजना बनाएको काउछाले बताए ।
आन्तरिकसँगै विदेशी पर्यटकलाई पनि नेपाली मौलिक र परम्परागत परिकारतिर आकर्षित गर्ने लक्ष्यसहित तेस्रो चरणमा मगर्स किचनलाई सातवटै प्रदेशका राजधानीमा विस्तार गर्ने काउछाको लक्ष्य छ । लुम्बिनी प्रादेशिक अस्पतालका फिजिसियन डा. नन्दु पाठकले आफू पनि नौलो लागेर त्यहाँ पुगेर परम्परागत परिकारको स्वाद लिएको बताए ।
‘स्वास्थ्यका दृष्टिले पनि पश्चिमा संस्कृतिका परिकारभन्दा नेपाली मौलिक परिकार धेरै फाइदाजनक छन्,’ पाठकले भने, ‘सकभर हामीले हाम्रै परम्परागत खाना र खाजाका परिकार खानु राम्रो हुन्छ ।’























