देश

जग्गाको बिबादमा रौतहटमा दुई समूहबीच झडप : १० जना घाइते, ८ मोटरसाइकलमा आगजनी, ३ घर तोडफोड

जगत ठाडा मगर
२०७८ असार २५ | मध्यान्ह ०२:०३ बजे

रौतहट । जग्गा सम्बन्धी पुरानो विवादका कारण गएराति रौतहटको चन्द्रपुरमा दुई समूहबीच झडप भएको छ । झडपमा १० जना घाइते भएका छन् भने केही घर तोडफोड र आठवटा मोटरसाइकलमा आगजनी भएको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी लिलाराज कोइरालाका अनुसार झडपमा विनेक चौधरी, आकाश चौधरी, मुथुन कुमार चौधरी, बच्चु चौधरी लगायत घाइते भएका छन् ।

घाइतेहरुको चन्द्रनिगाहपुरस्थित अस्पतालमा उपचार भइरहेको छ । जग्गा सम्बन्धी पुरानो विवादका कारण चन्द्रपुर नगरपालिका वडा नम्बर ८ बस्तिपुरमा गएराति करिब १० बजेतिर दुई पक्षबीच झडप भएको डिएसपी कोइरालाले बताए ।

यस्तै झडपको क्रममा आफन्तको घर तोडफोड भएको देखेर स्थानीय ७० वर्षीय जगरनाथ चौधरीको हृदयाघातबाट मृत्यु भएको छ । डिएसपी कोइरालाका अनुसार जगनारायण चौधरी, श्रीराम चौधरी र लक्ष्मी चौधरीको घर तोडफोड भएको छ ।

रातिदेखि नै सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटाइएकाले सो क्षेत्र अहिले केही शान्त रहेको उनले बताए ।

कमेन्टहरु