देश

अबको एक वर्षभित्रमा सबै मन्त्रालय लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा सार्ने तयारी

जगत ठाडा मगर
२०७८ असार २५ | मध्यान्ह १२:०३ बजे

लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा सारिने भएको छ।

प्रदेशसभाको बैठकबाट राजधानी चयन गरेपछि राप्ती उपत्यका देउखुरीमा राजधानी कार्यान्वयनले तीव्रता पाएको छ । आर्थिक वर्ष २०७८/७९ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित नौ मन्त्रालय स्थायी राजधानीमा सारिने भएको हो।

प्रदेश सरकारअन्तर्गत ग्रामीण तथा सहरी विकास मन्त्रालयले स्थायी राजधानी देउखुरी उपत्यकाबाट औपचारिक रूपमा कामकाज सुरू गरेको छ। लुम्बिनी प्रदेश ग्रामीण तथा सहरी विकासमन्त्री हरिप्रसाद रिजालले प्रदेशको हिउँदे अधिवेशनसम्म प्रदेशका सबै मन्त्रालय दाङको देउखुरीमा स्थापना हुने बताए।

गत असोज २० गते प्रदेशसभाबाट स्थायी राजधानी राप्ती उपत्यका देउखुरी र नाम लुम्बिनी राख्ने निर्णय गरिसकेको थियो। स्थायी राजधानी राप्ती उपत्यका देउखुरीबाट मन्त्रालयले कामकाज सुरूआत गरेको अवसरमा मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री रिजालले प्रदेशसभा भवन निर्माण काम भइरहेको बताए ।

साथै रिजालले स्थायी राजधानीको स्थान राप्ती प्राविधिक शिक्षालयलाई गोबरडिहा सार्ने सहमति गरेर शिक्षालयका लागि आवश्यक पर्ने भौतिक संरचना निर्माण भइरहेकाले सबै कार्यालय छिट्टै देउखुरी आउने विश्वास व्यक्त गरे।

‘सबै कार्यालयलाई व्यवस्थापन गर्ने जिम्मेवारी ग्रामीण तथा सहरी विकास मन्त्रालयको भएकाले यहाँ आएर कामको सुरूआत गरेका छौं। केही दिनभित्रै आन्तरिक मामिला तथा कानून मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलाई स्थायी राजधानीमा सार्ने गरी काम थालेका छौं’, मन्त्री रिजालले भने, ‘एक वर्षभित्र सबै मन्त्रालय सार्छौं र नमूना सहर बनाउँछौं।’

प्रदेशसभाको बैठकबाट राजधानी र नाम टुंगो लागेको नौ महिनापछि स्थायी राजधानीमा मन्त्रालय स्थापना गरेर कामकाज सुरू गरिनु ऐतिहासिक कार्य भएको मन्त्री रिजालले बताए।

राप्ती उपत्यकाको देउखुरी प्रदेशका सबै जिल्लालाई पायक पर्ने स्थानमा रहेको र देउखुरी प्राकृतिक हिसाबले पनि राजधानीका लागि उत्तम रहेको मन्त्री रिजालको भनाइ छ। आन्तरिक मामिला तथा कानून मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पनि राजधानीमा स्थापना गरेर कामकाज थालनीको योजनासमेत बनेको उनले बताए।

मन्त्रालयले पहिलो चरणमा राजधानीसँग सम्बन्धित काम नै प्राथमिकताका साथ काम गर्ने भएकाले राजधानीसँग सम्बन्धित सबै कार्यालय स्थापना गरेर नयाँ निर्वाचनमा जाने छ। राप्ती प्राविधिक शिक्षालय भित्र प्रदेशका सबैजसो मन्त्रालय, प्रदेशसभा र केही निर्देशनालय राखिने छ।

स्थायी राजधानीमा लुम्बिनी प्रदेशसभाको हिँउदे अधिवेशन सञ्चालन गरेर राजधानी कार्यान्यनको गतिलाई थप तीव्रता दिने तयारी भइरहेको छ। रु पाँच करोडभन्दा बढीको लागतमा शिक्षालय परिसभित्र प्रदेशसभा भवन बनिरहेको छ।

उक्त भवनमा हिँउदे अधिवेशनको बैठक राख्ने तयारी रहेको मन्त्री रिजालले बताए। ग्रामीण तथा सहरी विकास मन्त्रालयले खानेपानी तथा सरसफाइ स्वच्छता, भवन आवास तथा सहरीकरण र पर्यटन प्रवर्द्धन तथा विकाससँग सम्बन्धित रहेर कार्य गर्ने प्रतिबद्धता जनाइएको छ।

कमेन्टहरु