इजरायली हमलामा हिजबुल्लाहका प्रवक्ताको मृत्यु

बेरुत । सिरियाली बाथ पार्टीको लेबनानी शाखामा आइतबार मध्य बेरुतमा गरिएको इजरायली हमलामा हिजबुल्लाहका प्रवक्ता मोहम्मद अफिफ मारिएको लेबनानी सुरक्षा स्रोतले जनाएको छ ।
“रास अल–नबामा भएको आक्रमणमा हिजबुल्लाह मिडिया सम्बन्ध अधिकारी मोहम्मद अफिफको मृत्यु भएको छ,” सुरक्षा स्रोतले नाम नछाप्न अनुरोध गर्दै भन्यो ।
बाथ पार्टीको लेबनानी शाखाका महासचिव अली हिजाजीले ‘हिजबुल्लाह मिडिया अधिकारी अफिफको मृत्यु भएको पुष्टि गर्नुभएको’ आधिकारिक राष्ट्रिय समाचार एजेन्सी (एनएनए)ले जनाएको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयले आक्रमणमा एकजनाको मृत्यु र तीनजना घाइते भएका उल्लेख गरेको छ । मृतकको संख्या अस्थायी रहेको र आक्रमणस्थलबाट भग्नावशेष हटाउने कार्य जारी रहेको जनाइएको छ ।
फ्रान्सेली दूतावास र विश्वविद्यालयनजिकैको रास अल–नबामा ‘भग्नावशेषमुनि फसेका’ अनिर्दिष्ट संख्यामा मानिस रहेको रिपोर्ट गर्दै एनएनएले ‘शत्रु विमान’ले गरेको आक्रमणले ‘ठूलो विनाश’ गरेको जनाएको छ ।
एनएनएले भनेको छ, “छिमेकी भवनका एक बासिन्दाले खाली गर्न चेतावनी कल पाएका थिए, तर त्यसलाई गम्भीरतापूर्वक लिइएन ।”
सेप्टेम्बरको अन्त्यमा लामो समयदेखि हिजबुल्लाहका प्रमुख रहेका हसन नसरल्लाहको ठूलो इजरायली हमलामा हत्या भएपछि अफिफले बेरुतको दक्षिणी उपनगरमा धेरै पत्रकार सम्मेलन गरेका थिए ।
गएको महिना यस्तै एउटा घटनामा अफिफले हिजबुल्लाहले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निवासलाई निसाना बनाएर ड्रोन प्रहार गरेको घोषणा गरेका थिए ।
इजरायली सेनाले नजिकैको भवनमा आक्रमण गर्ने चेतावनी दिएपछि त्यो पत्रकार सम्मेलन त्यति बेला रोकिएको थियो ।























